काठमाडौं। नेपाली मौलिक खानाको संरक्षण, रैथाने स्वादको प्रवर्द्धन र नेपाली आतिथ्य संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। आगामी असोज २५ गतेदेखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुने महोत्सव काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै भैरहवामा आयोजना गरिनेछ।
होटल प्रेसिडेन्ट बिजनेस ग्रुपका सञ्चालक तथा काठमाडौं जिल्ला होटल व्यवसायी संघका अध्यक्ष शंकर भण्डारीले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपाली परम्परागत परिकार पक्कुको पहिचानलाई व्यापक बनाउने अभियानका रूपमा फेस्टिभल अघि बढाइएको बताए।
उनका अनुसार पुस्तौँदेखि नेपाली सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पक्कुको मौलिक स्वादलाई नयाँ पुस्तामाझ परिचित गराउनुका साथै स्वदेशी तथा विदेशी पर्यटक र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखिएको छ। यही उद्देश्यका साथ विगत तीन वर्षदेखि निरन्तर पक्कु फेस्टिभल आयोजना हुँदै आएको उनले जानकारी दिए।
यस वर्ष काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्ट बिजनेस ग्रुपका आउटलेटहरूमा पक्कुको परम्परागत स्वाद, मौलिक पाकविधि र नेपाली आतिथ्यको अनुभव लिन सकिनेछ। त्यस्तै, लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा पनि पक्कुलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।
प्रेसिडेन्ट बिजनेस ग्रुपले पक्कु फेस्टिभललाई केवल खानाको उत्सवमा सीमित नराखी नेपाली पाककला र पर्यटनलाई एकआपसमा जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ। नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका लागि मात्र नभई विविध परिकार, मौलिक स्वाद र आतिथ्य परम्पराका कारण पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको समूहको धारणा छ।

नेपाली रैथाने खानाको व्यावसायिक प्रवर्द्धनले स्थानीय कृषि उत्पादन र पशुपालनको बजार विस्तार गर्न, आपूर्ति शृङ्खलालाई सुदृढ बनाउन तथा स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा दक्ष जनशक्तिको माग बढाउनुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
समूहका अनुसार प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका विभिन्न आउटलेटहरूमा हाल ३५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। करिब दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सक्रिय समूहले ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै व्यावसायिक सेवा विस्तार गरिरहेको जनाएको छ।
व्यावसायिक सञ्जाललाई थप विस्तार गर्ने योजनाअनुसार समूहले रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। नयाँ स्थानमा सेवा विस्तारसँगै नेपाली मौलिक परिकारलाई थप उपभोक्तामाझ पुर्याउने र गुणस्तरीय आतिथ्य सेवाको पहुँच बढाउने लक्ष्य समूहले राखेको छ।
नेपाली खानाको पहिचानलाई राष्ट्रिय सीमाभन्दा बाहिर पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको पक्कु फेस्टिभलले परम्परागत पाककला, स्थानीय उत्पादन र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाली स्वादको संरक्षणसँगै त्यसलाई व्यावसायिक अवसर र पर्यटन प्रवर्द्धनको माध्यम बनाउने प्रयासस्वरूप प्रेसिडेन्ट बिजनेस ग्रुपले ग्राहक, सञ्चारकर्मी तथा खानाका पारखीलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ।
समूहले ‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्याउने दूरदृष्टिका साथ नेपाली मौलिक खानाको प्रवर्द्धन र ब्रान्डिङ अभियानलाई निरन्तरता दिने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend