आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

निफ्राको आठौँ साधारण सभा सम्पन्न 

निफ्राको आठौँ साधारण सभा सम्पन्न 

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा शुक्रबार सम्पन्न सभाले बैंकको वित्तीय अवस्था, पूर्वाधार क्षेत्रमा गरिएको लगानी तथा आगामी व्यावसायिक रणनीतिबारे समेत समीक्षा गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले बैंकले पूर्वाधार विकासका क्षेत्रमा लगानी विस्तार गर्दै आफ्नो व्यावसायिक गतिविधिलाई अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकले पूर्वाधार क्षेत्रका ५० वटा परियोजनामा ५६ अर्ब १३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ भने ३१ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।

पूर्वाधार क्षेत्रमा लगानी गर्दा परियोजनाको प्रकृति, लगानीको प्रतिफल र कार्यान्वयन प्रक्रियाका कारण लामो समय लाग्ने भए पनि बैंकले वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष दहालले बताए। बैंक स्थापना भएदेखि नै खराब कर्जा अनुपातलाई करिब शून्य प्रतिशतमा कायम राख्न सफल भएको उल्लेख गर्दै उनले यसलाई बैंकको वित्तीय व्यवस्थापन र जोखिम नियन्त्रण क्षमताको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

सभामा बैंकको आगामी कार्यदिशा, संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धिका विषयमा समेत जोड दिइएको थियो। पूर्वाधार विकासमा दीर्घकालीन लगानी गर्ने उद्देश्यसहित स्थापित बैंकले लगानीका अवसर विस्तार गर्दै शेयरधनीलाई उचित प्रतिफल उपलब्ध गराउने र संस्थालाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य अघि सारेको जनाएको छ।

कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू बन्धुप्रसाद बाँस्तोला, सुरेन्द्र रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझीलगायतको उपस्थिति रहेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसहित शेयरधनी तथा अन्य पदाधिकारीहरू पनि सभामा सहभागी थिए।

सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेसँगै शेयरधनीले बैंकको वित्तीय प्रगति र भावी व्यावसायिक योजनाप्रति चासो व्यक्त गरेका थिए। बैंकले आगामी दिनमा लगानीको गुणस्तर कायम राख्दै पूर्वाधार परियोजनामा वित्तीय स्रोत परिचालन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

पूर्वाधार विकासका लागि आवश्यक दीर्घकालीन पुँजी परिचालन गर्ने उद्देश्य बोकेको निफ्राले लगानी विस्तारसँगै वित्तीय स्थायित्व कायम राख्न सकेमा राष्ट्रिय पूर्वाधार निर्माणमा आफ्नो भूमिका थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend