काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णकुमार तुम्बापोले पार्टीलाई थप समावेशी, सुदृढ र गतिशील बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पार्टीको मूल आदर्शका रूपमा आत्मसात् गर्दै तुम्बापोले कांग्रेसमा समावेशी प्रतिनिधित्व, सुदृढ संगठन, एकता र सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन्।
आदिवासी जनजाति समुदायको आवाजलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा स्थापित गर्दै संगठनलाई सबै वर्ग, समुदाय र भूगोलको साझा राजनीतिक मञ्चका रूपमा थप मजबुत बनाउने उनको मुख्य एजेन्डा रहेको छ। उनले पार्टीभित्र नयाँ सोच र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको बताउँदै बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसलाई समयसापेक्ष, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तुम्बापोले कांग्रेसको गौरवशाली इतिहास, राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल मान्यतालाई संरक्षण गर्दै नयाँ पुस्ताको भावना र आकांक्षालाई समेत पार्टीको मूलधारसँग जोड्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पार्टीलाई बलियो बनाउन नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्ने तथा सबै समुदायको सम्मानजनक सहभागिताबाट मात्रै कांग्रेसलाई थप प्रभावकारी र जनविश्वासिलो बनाउन सकिनेछ।
आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई केवल सहभागितामा सीमित नराखी नीति निर्माण र नेतृत्व तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्दै तुम्बापोले समावेशी लोकतन्त्रलाई व्यवहारमै स्थापित गर्ने अभियानमा आफू प्रतिबद्ध रहेको बताएका छन्। पार्टीभित्र एकता र सहकार्यको संस्कार विकास गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने उनको जोड छ।
‘समावेशी प्रतिनिधित्व, सुदृढ संगठन, एकता र सहकार्य’लाई आफ्नो उम्मेदवारीको आधार बनाएका तुम्बापोले कांग्रेसलाई नयाँ सोचसहित जिम्मेवार नेतृत्वको पार्टीका रूपमा अघि बढाउन महाधिवेशन प्रतिनिधिहरूसँग साथ र समर्थनको अपेक्षा गरेका छन्। समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियानमा नेपाली कांग्रेसलाई थप सशक्त र प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend