काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार किरण किशोर घिमिरेले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
‘परम्पराको सम्मान, परिवर्तनप्रतिको प्रतिबद्धता’लाई आत्मसात् गर्दै घिमिरेले कांग्रेसको गौरवपूर्ण इतिहास, संघर्ष र योगदानलाई संरक्षण गर्दै बदलिँदो समयअनुसार पार्टीलाई थप गतिशील बनाउनुपर्ने धारणा अघि सारेका छन्। उनी कांग्रेसको नीति, विचार र संगठनलाई बलियो बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने पक्षमा छन्।
इमान्दारिता र निष्ठालाई आफ्नो राजनीतिक परिचय बनाएका घिमिरेले पदलाई व्यक्तिगत लाभभन्दा संगठन र जनताको सेवाको माध्यमका रूपमा लिएको बताउँदै आएका छन्। कांग्रेसभित्र निष्ठावान, सरल र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गरी जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन्।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका आधारभूत राजनीतिक आदर्श भएको उल्लेख गर्दै घिमिरेले यी मूल्य–मान्यतालाई व्यवहारमै स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। पार्टीभित्र विचार, विधि र अनुशासनलाई प्राथमिकता दिँदै सबै पुस्ता र तहका नेता–कार्यकर्तालाई समेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले सक्षम, इमान्दार र निष्ठावान नेतृत्व चयन गर्नुपर्ने आवाज उठिरहेका बेला घिमिरेले आफूलाई त्यसको विकल्पका रूपमा प्रस्तुत गरेका छन्। महाधिवेशन प्रतिनिधिहरूको विश्वास र मतले आफूलाई जिम्मेवारी दिए पार्टीको संगठन विस्तार, आन्तरिक एकता र जनमुखी राजनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।
घिमिरेले कांग्रेसको परम्परा र गौरवलाई सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षा र बदलिँदो राजनीतिक आवश्यकतालाई सम्बोधन गर्ने नेतृत्व निर्माणमा आफ्नो भूमिका रहने बताएका छन्। उनले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूलाई विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend