आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

बालबालिका संरक्षणमा ईस्थर बेन्जामिन स्मृति संस्थाको योगदान उल्लेखनीय

बालबालिका संरक्षणमा ईस्थर बेन्जामिन स्मृति संस्थाको योगदान उल्लेखनीय

काठमाडौं । ईस्थर बेन्जामिन स्मृति संस्थाले बालबालिका बेचबिखनविरुद्ध सञ्चालन गर्दै आएको अभियान, जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार तथा संरक्षण र शिक्षा क्षेत्रमा गरेको योगदानबारे जानकारी गराउँदै सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई विगत दुई दशकदेखि ललितपुर र मकवानपुर जिल्लामा बालबालिका बेचबिखनविरुद्धका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापनसँगै शिक्षा, विद्यालय भौतिक पूर्वाधार निर्माण तथा मर्मत, खानेपानी व्यवस्थापन र विद्यालय स्वास्थ्यका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ। आर्थिक तथा प्राविधिक साझेदारी एवं सरकारी निकायसँगको समन्वय र सहकार्यमा हालसम्म करिब एक हजार बालबालिकाको उद्धार तथा संरक्षण व्यवस्थापन गरिएको संस्थाले जनाएको छ।
संस्थाको नागरिक जवाफदेहिता तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक आत्मराम थापाले बताए। उनका अनुसार संस्थाले बालबालिकालाई शिक्षासँग जोड्नुका साथै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिम तथा शिक्षाबाट लाभान्वित भएका धेरै बालबालिकाले रोजगारी प्राप्त गर्नुका साथै केहीले आफैं रोजगारी सिर्जना गर्न सफल भएको उनले बताए। संस्थाका कार्यक्रमबाट ३५ जनाभन्दा बढी स्वरोजगार बनेको थापाले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि गणेश जोशीले बालबालिकाको अधिकार संरक्षणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। बालबालिकामाथि हुने हिंसा, बेचबिखन तथा जोखिम न्यूनीकरणका लागि राज्यका निकायसँगै सामाजिक संस्थाको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ थियो ।
त्यसैगरी गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले सामाजिक संस्थाले आफ्नो कामको पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई निरन्तर मूल्याङ्कन गर्नुपर्ने बताए। सामाजिक लेखा परीक्षणले संस्थाले सञ्चालन गरेका कार्यक्रमको उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे सरोकारवालालाई जानकारी गराउने भएकाले यसको महत्व रहेको उनले बताए।
कार्यक्रमकी अध्यक्ष तथा संस्थाकी अध्यक्ष उमा तिमल्सिनाले ईस्थर बेन्जामिन स्मृति संस्था बालबालिकाको क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएको बताइन्। संस्थाले बाल अधिकार र बाल संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले संस्था सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको बताइन्। बालबालिकाको संरक्षणसँगै उनीहरूको शिक्षा, सीप विकास र सुरक्षित भविष्य निर्माणमा संस्थाले निरन्तर काम गरिरहेको उनको भनाइ थियो।
सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाज कल्याण परिषद्का कामु निर्देशक सञ्जयकुमार मल्लिक सहभागी भएका थिए। कार्यक्रममा सरकारी निकाय, मानव अधिकार क्षेत्र, गैरसरकारी संस्था तथा बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। संस्थाले आगामी दिनमा पनि बाल अधिकार, बाल संरक्षण, शिक्षा तथा जोखिममा रहेका बालबालिकाको उद्धार र पुनःस्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
२०८३ असोज १९ गते सोमबार काठमाडौंमा आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रम संस्थाकी अध्यक्ष उमा तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend