आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

हिमालय सहकारीको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

हिमालय सहकारीको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । हिमालय सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दयानाथ शर्माको सभापतित्वमा मानसरोवर पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौंमा सम्पन्न साधारणसभामा अध्यक्ष शर्माले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरेका उपलब्धि, संस्थाको वित्तीय अवस्था तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।
साधारणसभामा अध्यक्ष शर्माले सदस्यको हित, संस्थाको दिगो विकास तथा सहकारीको उद्देश्यअनुसार वित्तीय अनुशासन कायम गर्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले बदलिँदो आर्थिक परिवेश र सहकारी क्षेत्रमा देखिएका चुनौतीका बीच सदस्यको विश्वासलाई केन्द्रमा राखेर संस्थाको सेवा विस्तार तथा संस्थागत सुशासनलाई प्राथमिकता दिइएको बताए।
सभामा संस्थाको लेखा सुपरीवेक्षण समितिको आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन, लेखापरीक्षक ए.आर.एन. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरिएको थियो। साथै आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट शेयर लाभांश कोषमा सारिएको रकममध्ये शेयर सदस्यलाई ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावमाथि समेत छलफल तथा निर्णय गरिएको थियो।
त्यसैगरी साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि संस्थाको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, विभिन्न पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्ने, आन्तरिक कार्यविधि तथा नियमित कारोबार सञ्चालनका क्रममा सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका विषयमा छलफल गरेको थियो।
साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साधारणसभाको निर्णय पुस्तिकामा शेयर सदस्यका तर्फबाट दस्तखत गरी प्रमाणित गर्न आठ जना सदस्य मनोनयन गर्ने लगायतका प्रस्तावसमेत पारित गरेको छ। साधारणसभामा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
साधारणसभामा अध्यक्ष शर्माले संस्थाको प्रगति र आगामी योजनाबारे सदस्यहरूलाई जानकारी गराउँदै सहकारीको विकासमा सदस्यहरूको निरन्तर सहयोग र सहभागिता महत्वपूर्ण रहेको बताए। संस्थाले आगामी दिनमा सदस्यकेन्द्रित सेवा, पारदर्शिता, सुशासन र वित्तीय सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend