आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

शिवश्री बहुउद्देश्यीय सहकारीको १०औँ वार्षिक साधारण सभा सम्पन्न

शिवश्री बहुउद्देश्यीय सहकारीको १०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शिवश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, आगामी कार्ययोजना तथा विभिन्न प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयहरू गरिएको छ।
साधारण सभामा अध्यक्ष भीमप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा आगामी दिनमा संस्थालाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने योजनाबारे जानकारी गराएका थिए। उनले सदस्यको हितलाई केन्द्रमा राख्दै सहकारीको संस्थागत विकास, आर्थिक सुदृढीकरण तथा सेवा विस्तारमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा स्वागत मन्तव्य कविराज तिमिल्सिनाले गरेका थिए। साधारण सभामा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति, शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।


सभामा आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने, आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित बजेट अनुमानमाथि छलफल गरी पारित गर्ने, लेखा तथा सुपरीवेक्षण समितिबाट प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक विवरण पारित गर्ने विषयमा छलफल भएको थियो।
त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कोषको बाँडफाँड स्वीकृत गर्ने, शेयर लाभांश तथा संरक्षित पूँजी कोषको रकम वितरण गर्ने तथा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि चयन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा छलफल तथा निर्णयका लागि प्रस्तुत गरिएको थियो।
संस्थाले साधारण सभालाई सदस्यहरूबीच संस्थाको प्रगति, आर्थिक अवस्था र आगामी योजनाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। सभामा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरूमाथि सदस्यहरूले आवश्यक छलफल गर्दै संस्थालाई थप पारदर्शी, व्यवस्थित र सदस्यकेन्द्रित रूपमा अघि बढाउन सुझाव दिएका थिए।
शिवश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी दिनमा सदस्यको आर्थिक हित र आवश्यकताअनुसार सहकारीका सेवा तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्ने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend