१३ कार्तिक, काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेड हाइड्रोपावर कम्पनी यस आर्थिक वर्षदेखि संचालन मुनाफामा गएको छ। यही कार्तिक १२ गते काठमाडौंमा सम्पन्न भएको उक्त कम्पनीको छैठौं वार्षिक साधारणसभामा अध्यक्ष बद्रीप्रसाद गौतमले कम्पनीले यस वर्ष खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी शेयरधनीहरुलाई दिएका हुन् ।
सो साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन , वासलात, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदन लगायतका विषयहरु छलफल गरि पारित गरेको छ।
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ५ वर्षदेखि संचालन गरिरहेको छ। आ. व. २०८१/८२ मा कम्पनीले विद्युत बिक्रीबाट जम्मा रु. ९,६७,५४,९०१/- आम्दानी गरेको जनाएको छ।
छैठौं वार्षिक साधारणसभा प्रयोजनको लागी कम्पनीले असोज २७ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो। आ. व. २०७९/८० मा कम्पनीको शेयरको सार्वजनिक निष्कासन गर्न सफल रहेको यस कम्पनीको शेयर सूचीकृत भइ सर्वसाधारणलाई जारी गरिएको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भइरहेको छ। हालसम्मको अवस्था हेर्दा कम्पनीको शेयरको कारोबार मूल्य उत्साहजनक रहेको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend