सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

टन्डुकारद्वारा तिहार, म्हः पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

टन्डुकारद्वारा तिहार, म्हः पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

५ कार्तिक, काठमाडौं  । काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरा लाल टन्डुकारले नेपालीहरूको महान चाड तिहार, म्हः पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह,  स्थानीय निकायका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, कलाकार, साहित्यकार तथा बिभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष टन्डुकारले २०३६ सालदेखि निरन्तर रूपमा आफ्नो व्यक्तिगत खर्चमा यो शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै आउनु भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमले समुदायबीच आपसी सद्भाव, सहकार्य र सौहार्दका सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण योगदान दिँदै आएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष टन्डुकारले नेपाल संवत् नेपाली पहिचान, सभ्यता र मौलिक संस्कृतिको प्रतीक भएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो परम्परा, हाम्रो संस्कृति र हाम्रो अस्मिता नै हाम्रो पहिचान हो। यसलाई जोगाउन र निरन्तरता दिनु नै हाम्रो कर्तव्य हो।”

कार्यक्रममा उपस्थित अतिथिहरूले तिहार, म्हः पूजा, नेपाल संवत् र छठ पर्वले ल्याउने सद्भाव, आत्मचिन्तन र पुनर्जागरणको सन्देश समाजभर फैलाउने आवश्यकता औंल्याए ।

सांस्कृतिक प्रस्तुति, दीप प्रज्वलन र शुभकामना आदान–प्रदानसँगै सम्पन्न उक्त कार्यक्रमले स्थानीय समुदायमा चाडपर्वको उल्लास मात्र होइन, सामाजिक ऐक्यबद्धता र परम्पराप्रतिको निष्ठा पुनर्स्थापित गर्ने अवसर पनि सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष हिरा लाल टन्डुकारले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष पनि सो कार्यक्रमलाई अझ व्यवस्थित र भव्य रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend