सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देश फेरि नजलाऔं, युवाको मागलाई षड्यन्त्रपूर्वक असफल नबनाऔंः शर्मा

देश फेरि नजलाऔं, युवाको मागलाई षड्यन्त्रपूर्वक असफल नबनाऔंः शर्मा

 

२ कार्तिक,काठमाडौं । निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) का उपाध्यक्ष रबिन्स शर्माले देशलाई फेरि राजनीतिक आगोमा जलाउने कार्य नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । हालको राजनीतिक जटिलता र युवाहरूको आन्दोलनबीच शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै, संविधान बमोजिमको चुनावी प्रक्रिया बाटै संविधान परिवर्तन गर्न असम्भव रहेको स्पष्ट पारेका छन् ।

उनका अनुसार, जेनेरेसन–जेड (Gen-Z) उमेर समूहका युवाहरूले नयाँ दल दर्ता गरे पनि ती दलहरू अन्ततः पुराना दलहरूको नीतिगत लाइनमै अड्किने सम्भावना रहन्छ । त्यसैले उनले दल दर्ता र दलदलमा फस्नेभन्दा पनि देशको समग्र राजनीतिक अप्ठेरो फुकाल्न तत्काल राष्ट्रिय स्तरको गोलमेच छलफलको आवश्यकता औंल्याएका छन् ।

शर्माले भनेका छन्, “संविधान बमोजिम चुनाव गरेर संविधान परिवर्तन प्रायः असम्भव छ । त्यसैले पटक–पटक देश नजलाऔं, विद्यालय–कलेजका पोशाकमा विद्यार्थीलाई सडकमा नल्याऔं । संसद विघटन गर्न त केपी बा आफैं तयार थिए, तर अहिले जस्तो अकल्पनीय घटना भएपछि, यति धेरैले बलिदान दिएपछि, अब तत्काल दलहरू र नागरिक समाजले मिलेर समाधान खोज्नुपर्छ।”

उनले देशभित्रको प्रतिशोध, इगो र ईर्षाले मुलुकलाई कहिल्यै स्थिरता नदिने चेतावनी पनि दिएका छन् । शर्माले सुसासन, पारदर्शिता, भ्रष्टाचारमुक्त प्रशासन र युवाको सक्रिय सहभागितामार्फत मात्र देश अघि बढ्न सक्ने बताएका छन् ।

उनका अनुसार, २०८२ भाद्र २३ गतेका युवाहरूको माग सुस्पष्ट र देशहितमा केन्द्रित थियो, त्यसलाई षड्यन्त्रपूर्वक असफल पार्ने कुनै पनि प्रयासले समाजमा थप अन्योल र द्वन्द्व मात्रै बढाउनेछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend