२ कार्तिक,काठमाडौं । सानिमा बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले कार्तिक २ गते आइतबार सम्पन्न गरेको सभामा गत आर्थिक वर्षको नाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आ.व. २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो । सभाले संस्थापक सेयरधनी तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई पुनः सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सानिमा बैंकले रु. २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कुल सम्पत्ति रु. २६३ अर्ब ५५ करोड पुगेको छ भने कुल निक्षेप रु. २२५ अर्ब ४८ करोड र खुद कर्जा सापटी रु. १८३ अर्ब ४५ करोड रहेको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार असार मसान्त २०८२ सम्मका वित्तीय परिसूचकहरू पनि सन्तोषजनक छन् । निष्क्रिय कर्जा (NPL) ३.०१ प्रतिशतमा सीमित रहेको छ भने पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १३.०१ प्रतिशत रहेको छ । त्यस्तै तरलता ३०.९५ प्रतिशत र कर्जा–निक्षेप अनुपात (CD Ratio) मासिक औसतमा ८१.०३ प्रतिशत रहेको छ ।
बैंकले आगामी वर्षमा डिजिटल बैंकिङ विस्तार, ग्रामीण वित्तीय पहुँच अभिवृद्धि र दिगो बैंकिङ अभ्यासमा केन्द्रित हुने प्रतिबद्धता पनि सभामार्फत सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend