सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्माण उद्योगमा सुरक्षाको प्रत्याभूति माग गर्दै महासंघको गृह मन्त्रीलाई ध्यानाकर्षण

निर्माण उद्योगमा सुरक्षाको प्रत्याभूति माग गर्दै महासंघको गृह मन्त्रीलाई ध्यानाकर्षण

 

२ कार्तिक,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहज्यूको नेतृत्वमा आइतवार एक उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै नियुक्त माननीय गृह मन्त्री श्री ओमप्रकाश अर्यालज्यूलाई भेट गरी निर्माण क्षेत्रका ताजा समस्या र चुनौतीबारे विस्तृत रूपमा अवगत गराएको छ ।

प्रतिनिधिमण्डलले पछिल्लो समय देशभरका ठूला–साना निर्माण परियोजनाहरूमा देखा परेका सुरक्षा चुनौतीहरू, धम्की र तोडफोडजस्ता घटनाहरूले निर्माण व्यवसायीहरूमा त्रास फैलाएको भन्दै तत्काल प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको थियो । प्रतिनिधिमण्डलका अनुसार निर्माण व्यवसायीहरूले जोखिमपूर्ण वातावरणमा कार्य गर्नुपरेको र यसले विकास निर्माणको गति नै प्रभावित बनाइरहेको छ ।

अध्यक्ष सिंहले भेटमा भन्नुभयो, “निर्माण उद्योग देशको विकासको मेरुदण्ड हो । तर पछिल्लो समय सुरक्षाको अभाव र कानूनी जटिलताले व्यवसायीहरू असुरक्षित महसुस गरिरहेका छन् । राज्यले अब यो क्षेत्रमा गम्भीर ध्यान दिनु अत्यावश्यक छ।”

महासंघले कानूनका ज्ञाता समेत रहनु भएका माननीय गृह मन्त्री अर्यालज्यूलाई निर्माण व्यवसायसँग सम्बन्धित अव्यवहारिक ऐन, नियम र प्रक्रियाहरूका कारण व्यवसायीहरू भोगिरहेका कठिनाइहरूबारे पनि विस्तृत जानकारी गराएको थियो । यस क्रममा महासंघले निर्माण व्यवसायमैत्री नीति र कानूनी संरचना बनाउन सरकारलाई आग्रह गरेको छ, जसले ईमानदार व्यवसायीको संरक्षण र असल प्रतिस्पर्धा सुनिश्चित गर्न सघाउ पुग्ने बताइएको छ ।

माननीय मन्त्री अर्यालले भेटका क्रममा निर्माण उद्योग राष्ट्रको समग्र आर्थिक गतिविधिको आधार भएको उल्लेख गर्दै निर्माण व्यवसायीहरूको माग र सुझावहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरूको सुरक्षासम्बन्धी समस्या तत्काल सम्बोधनका लागि गृह मन्त्रालय आवश्यक पहल गर्न तयार रहेको बताउनुभयो ।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा कार्यकारिणी सदस्यहरू समेत सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलले अन्त्यमा माननीय मन्त्रीज्यूको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा निर्माण व्यवसायी र सरकारी निकायबीच थप सहकार्य र संवादको वातावरण विस्तार हुने विश्वास व्यक्त गरेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend