सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बागलुङलाई नमुना जिल्ला बनाउने लक्ष्य छः टेक बहादुर पुन मगर

बागलुङलाई नमुना जिल्ला बनाउने लक्ष्य छः टेक बहादुर पुन मगर

 

गलकोट (बागलुङ)    रास्वपा नेता टेक बहादुर पुन मगरले अबको रास्वपाको यात्रा “स्वावलम्बन र उत्पादनमुखी अर्थतन्त्र” तर्फ निर्देशित हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलकोट नगरपालिका–१०, पाण्डबखानीको पहिलो वडा अधिवेशनलाई सम्वोधन गदै  उनले यस्तो कुरा बताएका हुन ।

नेता पुन मगरले भने, “अबको रास्वपा र तिनका नेता–कार्यकर्ता आत्मनिर्भर बन्नुपर्छ । पार्टीले कसैलाई माछा दिएर होइन, माछा मार्ने बल्छी दिएर सशक्त बनाउनेछ । कसैलाई कुखुरा दिएर होइन, कुखुरा पाल्ने दाना दिएर दीगो आम्दानीतर्फ उन्मुख गराउनेछ ।” उनका अनुसार रास्वपाको नीति देशभर स्वावलम्बन, उत्पादन र उद्यमशीलता विकासमा केन्द्रित रहनेछ ।

उनले गाउँबाटै आर्थिक समृद्धिको बाटो खोज्नुपर्ने बताउँदै थपे, “हामीले अब कृषि क्रान्ति गर्नुपर्छ, पर्यटनको नयाँ ढोका खोल्नुपर्छ । हरेक वडामा कृषि केन्द्र स्थापना गरी युवा कृषकहरूलाई प्रविधि, तालिम र पूँजी पहुँच उपलब्ध गराउनुपर्छ । रास्वपाले त्यसका लागि योजना र नीति बनाउँदैछ ।”

उनले गलकोट नगरपालिका र सम्पूर्ण बागलुङ जिल्लालाई रास्वपाको “मोडेल जिल्ला” बनाउने संकल्पसमेत गरे । “बागलुङलाई नमुना जिल्ला बनाउने हाम्रो लक्ष्य हो — जहाँ गाउँलेहरू विदेशको सपना होइन, आफ्नै गाउँमा रोजगारी र आम्दानी देखून् । अब देश विकासको बाटो गाउँबाटै सुरु हुन्छ,” पुन मगरले भने ।

उनले शिक्षित युवालाई कृषि, पशुपालन, पर्यटन, साना उद्योग र नवप्रवर्तनमुखी व्यवसायमा जोडिन आग्रह गरे । “देश निर्माणका लागि युवाहरूले विदेश जान छोडेर आफ्नै गाउँमा केही गर्नुपर्छ । पार्टी त्यसका लागि आवश्यक सहयोग र मार्गदर्शन गर्न तयार छ,” उनले बताए ।

अधिवेशनमा गाउँका विभिन्न सामाजिक विषयमा पनि छलफल गरिएको थियो । वक्ताहरूले स्थानीय स्तरमै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा सभापति यामलाल वुढाको अध्यक्षता र गण्डकी प्रदेश संगठन विभाग सदस्य खिमानन्द पौड्यालको प्रमुख आतिथ्य रहेको थियो । अधिवेशनले नयाँ कार्यसमिति गठन गरी आगामी वर्षका लागि संगठन सुदृढीकरण, जनसंपर्क विस्तार, कृषि र पर्यटन प्रवर्द्धनका एजेन्डा पारित गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend