सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्थतन्त्र अस्थिर, कर तिर्ने वातावरण नै हराउँदै गएको छः हेमराज ढकाल

अर्थतन्त्र अस्थिर, कर तिर्ने वातावरण नै हराउँदै गएको छः हेमराज ढकाल

 

 

२९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले हालको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । सो कुरा उनले नेपाल हस्तकला महासंघको ४५ औं बार्षिक साधारण सभा कार्यक्रममा बोलेका हुन ।  उनका अनुसार देशको अर्थतन्त्र यतिबेला यस्तो मोडमा पुगेको छ जहाँ “भोलि हामीले कर तिरेनौं भने के हुन्छ ?” भन्ने प्रश्न उठ्न थालेको छ ।

ढकालले वर्तमान परिस्थितिलाई विगत तीन दशकको आर्थिक उतारचढावसँग तुलना गर्दै भने, “२०४८ सालमा लगानी गर्ने ठाउँ थियो, वातावरण पनि अनुकूल थियो, आशा र सम्भावनाले भरिएको समय थियो । त्यसपछि देशले माओवादी जनयुद्ध, भूकम्प, कोभिड र अहिले जेन्जी आन्दोलनको प्रभावजस्ता एकपछि अर्को संकटको सामना गर्नुपर्‍यो ।”

उनका अनुसार ती सबै घटनाले अर्थतन्त्रको मेरुदण्ड नै कमजोर बनाइदिएका छन् । “व्यापार विस्तार, औद्योगिक विकास र उत्पादन वृद्धिका सम्भावना घटेका छन् । लगानीकर्तामा विश्वसनीयता गुम्दै गएको छ, बैंकिङ प्रणालीमाथि पनि दबाब छ,” ढकालले भने ।

ढकालले अहिलेको अवस्थाबाट देशलाई निकास दिन अन्तरिम सरकारले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । “यो सरकार अस्थायी भए पनि देश स्थायित्वको दिशामा अग्रसर हुनुपर्छ । आर्थिक स्थायित्व र सुरक्षा दुवैको ग्यारेन्टी सरकारले दिन सक्नुपर्छ,” उनले जोड दिए ।

उनले थपे, “अन्तरिम सरकारले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर निर्धारित समयमा निर्वाचन गराउनु जरुरी छ । राजनीतिक अनिश्चितता नै आर्थिक अस्थिरताको मूल कारण हो । जबसम्म सहमति र साझा दृष्टिकोण बन्न सक्दैन, लगानी, उत्पादन र रोजगारीका अवसरहरू पुनर्जीवित हुँदैनन् ।”

ढकालका अनुसार अहिलेको प्राथमिकता राजनीतिक स्थायित्व र विश्वास पुनःस्थापना हुनु हो । “यदि हामीले अहिले पनि नसोचौं भने उत्पादनशील क्षेत्र ध्वस्त हुन्छ, कर राजस्व घट्छ, र राज्य सञ्चालनमा गम्भीर संकट आउँछ । अर्थतन्त्रलाई बचाउन सबै तहका नेतृत्व जिम्मेवार हुनुपर्छ,” उनले चेतावनी दिए ।

उनी भन्छन्, “यो देशमा अवसर हराएको छैन, तर भरोसा हराउँदै गएको छ । सरकार र निजी क्षेत्रबीच सहकार्य बिना अर्थतन्त्र उठ्नेवाला छैन । अहिले बोल्ने होइन, काम गरेर देखाउने समय हो ।”

ढकालले अन्त्यमा भने, “हाम्रो सुरक्षाको ग्यारेन्टी अन्तरिम सरकारले गर्नुपर्छ — राजनीतिक, आर्थिक र सामाजिक तीनै मोर्चामा स्थायित्व कायम गर्न सके मात्र देश पुनःस्थापना र विकासको बाटोमा फर्कनेछ ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend