सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 दायित्व 

 दायित्व 

 

सारा सृष्टि अडेकाे छ दायित्व फेरमा परी
सबैकाे हुन्छ दायित्व पलापल घरीघरी ।
दायित्व सूर्यकाे हेर अनि चन्द्र र वायुकाे
पृथ्वी आकाश यो अग्नि जल र यजमानकाे ।।

दायित्व सबले गर्दा पूरा सृष्टि चले हरे
सहयोग यहीसाथ आपसमा भई रहे ।
वनस्पति सबै प्राणी जीव निर्जीवका घर
ज्युँनुमर्नु चलेकाे छ एकअर्का परी भर ।।

मातापिता बजैबाजे स्त्रीका पुरुष साथमा
प्रकृति वृक्षमा झार माटाे पत्थर बालुमा ।
सृजना अडिएकाे छ फैलिएर यताउति
जात वर्ग र भाषामा भेष लिङ्ग भएजति ।।

मिले आपसमा हेर चल्याे सृष्टि मनाेहर
जीवन्त बन्छ याे विश्व प्राणीकाे छ धराेहर ।
गरूँ दायित्व निर्वाह फुलेकाे देख्छु याे धरा
रमाएमा सबै प्राणी पृथ्वी हुन्छ हराभरा ।।

स्वार्थी छन् सब यी प्राणी साथ दुश्मन छन् घर
ज्युँन आफू अरूकाे ऊ रगतै बग्छ तर्तर ।
सृष्टिकै चक्र हाे यस्तो चलिरहन्छ चल्दछ
जन्मनु मर्नु प्राणीकाे धर्म हाे यही भाेग्दछ।।

तर दायित्व आमाकाे बाबाकाे पर भिन्न छ
रक्षकमा हुँदा आमा बाबा भक्षक बन्दछ ।
भिन्न छन् जीव वा जन्तु दायित्व पनि भिन्न छ
पाले शिक्षा गरे पाेष ज्ञानकाे अनुपात छ ।।

शिक्षक साथमा सेना प्रहरी र निजामती
समाज सेवी नेता र मन्त्रीगण भएजति ।
दायित्वमा भए श्रेष्ठ बन्थ्याे देश हराभरा
सुखशान्ति यता अग्ली फल्थे फुल्थे सबै गरा ।।

शक्तिराष्ट्र र कम्जाेर दायित्व विश्व दृष्टिमा
थिच्नु थिचिनु क्वै हुन्न तमासा हेर तथ्यमा।
विद्यालय र छन् धेरै स्वास्थ्यका जनका घर
बमगाेला र क्षेप्यास्त्र पड्किँदा छन् छ निरन्तर।।

शक्ति रक्षार्थमा दीन विद्या ज्ञान दिने भनी
धन दान गरूँ भन्ने शास्त्र सम्झनु पर्छ नि ।
तमासे ह्वैन दायित्व गरिब निमुखाहरू
भाेका नाङ्गा सबै हेरी दायित्व हुन्न आबरु ।।

भाेकले दीन छन् काेही काेही डकार्न बस्दछन्
दायित्वहीनता हेर निमुखा मात्र मर्दछन् ।
दायित्व सबले सम्झे स्वर्ग बन्ने थियाे धरा
भाग्दथे युद्ध वा क्रोध शान्ति हुन्थ्यो हराभरा ।।

– हरिभक्त सिग्देल ‘ महेश ‘

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend