२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोगकर्तामाथि लागू हुने नगद निकासी सीमा घटाउने निर्णय गरेको छ। भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ सीमा तोकेको हो।
संशोधित निर्देशिका अनुसार अब डेबिट कार्डमार्फत एटीएमबाट प्रतिकारोबार अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिने छ। यसअघि प्रयोगकर्ताले एक पटकमा २५ हजार रुपैयाँसम्म निकासी गर्न पाउने व्यवस्था थियो।
त्यस्तै, दैनिक निकासी सीमा पनि घटाइएको छ। अब एक दिनमा एटीएमबाट अधिकतम ५० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ, जुन पहिले एक लाख रुपैयाँसम्म थियो।
राष्ट्र बैंकले मासिक निकासी सीमा पनि परिमार्जन गर्दै अब एक महिनामा बढीमा तीन लाख रुपैयाँसम्म मात्र एटीएमबाट झिक्न पाउने व्यवस्था गरेको छ। अघिल्लो प्रावधानअनुसार यो सीमा चार लाख रुपैयाँ थियो।
राष्ट्र बैंकका अनुसार डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न र नगद कारोबारमा निर्भरता घटाउने उद्देश्यले एटीएम सीमामा यस्तो परिमार्जन गरिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend