१९ असोज,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निरन्तर वर्षा, पहिरो र बाढीजस्ता प्राकृतिक विपद्मा तत्काल भौतिक क्षति मात्रै नभई स्वास्थ्यमा पनि गम्भीर असर पर्न सक्ने भन्दै आम जनतालाई विशेष सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यस्ता विपद्को प्रारम्भिक चरणमा चोटपटक र आघात देखापरे पनि त्यसपछि पानीजन्य तथा कीटजन्य रोग फैलिने जोखिम उच्च हुन्छ। पखाला, हैजा, डेङ्गी, मलेरियाजस्ता रोगहरू बढ्न सक्ने भएकाले यस्ता लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने उनले बताए।
उनले थपे, “प्राकृतिक विपद्मा बसोबास र खानपानको अवस्था बिग्रँदा आँखा पाक्ने, खानासम्बन्धी रोग तथा मानसिक समस्यासमेत बढ्न सक्छन्। त्यसैले शुद्ध उमालेको पानी पिउनु, खानपानमा सावधानी अपनाउनु र सरसफाइमा ध्यान दिनु अत्यावश्यक छ।”
मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत विपदग्रस्त क्षेत्रमा सचेतना फैलाउने कार्य भइरहेको जानकारी दिएको छ। साथै, आपतकालीन अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी र चालकसहितको एम्बुलेन्स सेवा उपलब्ध भएकाले १०२ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यसम्बन्धी अन्य जानकारीका लागि १११५ नम्बर प्रयोग गर्न आग्रह गरिएको छ।
यस्तै, लगातारको वर्षाले अस्पतालमा आकस्मिक सेवा लिनुपर्ने सम्भावना बढेकाले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend