१९ असोज,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा दिइने बिदा व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गर्दै अनावश्यक बिदा कटौती गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत विचार राख्दै प्राकृतिक विपत्तिका कारण दिइने बिदा उचित र स्वागतयोग्य हुने तर अरु कारणले दिइने बिदा अत्यधिक हुँदा देशको उत्पादनशीलता प्रभावित हुने उल्लेख गर्नुभएको हो।
मल्लका अनुसार धार्मिक, सांस्कृतिक र स्थानीय आवश्यकता अनुसार मात्र बिदा व्यवस्था गर्नुपर्छ। त्यसमा पनि आवश्यक अवस्थामा सहज सुविधा दिने गरी कार्यान्वयन गरिनुपर्ने उहाँको सुझाव छ। “देशलाई अघि बढाउन उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनु जरुरी छ, अनावश्यक बिदा बढ्दा अर्थतन्त्रमा प्रतिकूल असर पर्छ,” मल्लले भन्नुभएको छ।
पूर्व अध्यक्ष मल्लले नेपालजस्तो अर्थतन्त्रले निरन्तर श्रम र लगन आवश्यक पर्ने अवस्थामा बिदाको संरचना व्यवस्थित हुनुपर्ने औंल्याउनुभयो। उहाँका अनुसार जनताले आस्थासँग जोडिएका धार्मिक र सांस्कृतिक पर्वमा बिदा पाउनु स्वाभाविक हो तर त्यस बाहेक हरेक कारण देखाएर थप बिदा दिनु मुलुकको समग्र प्रगतिको लागि चुनौती बन्ने खतरा छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend