१८ असोज, काठमाडौं । अविरल वर्षा र प्राकृतिक विपद्को बढ्दो जोखिमबीच अभिभावक, विद्यालय सञ्चालकदेखि सुरक्षाकर्मी र सामाजिक अभियन्तासम्मलाई सक्रिय सहयोग गर्न आग्रह गरिएको छ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले शनिवार सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै विपद् न्यूनीकरणमा सबैलाई हातेमालो गर्न आग्रह गरेका हुन्।
उनले विशेषगरी बालबालिकाको सुरक्षाप्रति सजग रहन अभिभावकलाई अनुरोध गरेका छन्। शर्माले बालबालिकालाई घरमै सुरक्षित राख्न, खोलानाला, पहिरो जोखिमयुक्त क्षेत्र, नदी वा पोखरी हेर्न बाहिर जान नदिन कडा आग्रह गर्दै सकेसम्म आफ्नै निगरानीमा राख्न सुझाव दिएका छन्।
शर्माले सम्पूर्ण निजी विद्यालय सञ्चालक, संस्थापक तथा प्रिन्सिपलहरूलाई पनि जिम्मेवार भूमिकामा उभिन आह्वान गरेका छन्। उनका अनुसार विपद्को अवस्थामा विद्यालयहरूले सामुदायिक उत्तरदायित्व बुझ्दै सुरक्षित स्थान, आधारभूत सुविधा र सहयोग उपलब्ध गराउन सक्ने गरी तयारी अवस्थामा रहनुपर्नेछ।
यस्तै, उनले नेपाली सेना, प्रहरी, राजनीतिक दलका कार्यकर्ता, सामाजिक अभियन्ता, टेड्स लगायतका गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै प्रभावितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन जोड दिए। “विपद् व्यवस्थापन कुनै एक संस्थाको जिम्मेवारी होइन, हामी सबैको साझा कर्तव्य हो,” उनले लेखेका छन्।
शर्माको भनाइमा अहिलेको चुनौतीपूर्ण अवस्थालाई सामूहिक एकताले मात्र जित्न सकिने भएकाले सबै तह र क्षेत्रका व्यक्तिहरूलाई एक आपसमा सहयोगी भावनासहित अघि बढ्न जरुरी छ। उनले सामाजिक सञ्जालमार्फत गरेको अपिललाई विद्यालय सञ्चालकदेखि अभिभावक र सर्वसाधारणसम्मले सकारात्मक रूपमा लिएको प्रतिक्रिया पनि देखिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend