काठमाडौं ४, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै धूलोधूवाँ नभएको शहर बनाउने उदघोष समेत गरे ।
उनले प्रदूषण कम गर्नका लागि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनबाट बिस्तारै इलेक्ट्रिक सवारीसाधनतर्फ अघि बढेको बताए । प्रधानमन्त्री ओलीले सडक मार्गका लागि सुरुङ आयोजना अघि बढेको भन्दै नेपाल नयाँ युगमा प्रवेश गरेको जिकर पनि गरे ।
यसका अलावा टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेसी लगायतका सुरुङमार्ग अध्ययनको चरणमा रहेको उनको भनाइ छ ।
नागढुंगा सुरुङमार्ग आयोजना तोकिएको मिति ४२ महिनाभित्रै सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।
जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुईवर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो । सुरुङमार्ग प्रवेश मार्गसहित ५.५६ किमीको हुनेछ ।
यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend