बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

इप्पानको रजत जयन्ती: उर्जामा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँभन्दा बढी

इप्पानको रजत जयन्ती: उर्जामा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँभन्दा बढी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशलाई लोडसेडिङमुक्त गरी  विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्  । मंगलबार (१३ कार्तिक ) इप्पानले गरेको  पत्रकारसँगको अन्तर्कृयामा  इप्पान अध्यक्षले यस्ताे बताएका हुन् ।

त्यस्तै , आफ्नो  २५ ‍‍‍‍औं वार्षिकोत्सव मनाउन लागेकाे जानकारी दिँदै इप्पानले निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य भएकाेमा हर्ष प्रकट गरेकाे छ । इप्पान विसं २०५७ साल माघ ४ गते स्थापना भएकाे थियाे । यसले नेपालको ऊर्जा विकासका लागि २५ वर्ष समर्पित गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हाल देशको कुल विद्युत जडित क्षमता ३ हजार २ सय ३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २ हजार ५ सय ४८ मेगाबाट अर्थात् कुल जडित क्षमताको करिब ८० प्रतिशत विद्युत उत्पादन भइरहेकाे इप्पानले जनाएकाे छ । साथै ३ हजार ९ सय ४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन र ४ हजार ५ सय ४५ मेगावाट क्षमताका आयोजनाहरू विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

१२ हजार ५ सय मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा रहेका छन् भने त्यति नै क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेकाे इप्पानले जनाएकाे छ ।इप्पानका अनुसार आयाेजनाकाे अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

उर्जामा निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ । रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरू दिने इप्पान कार्यसमितिको १८७ औं बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तिकाे लागि छुट्टै लाेगाे र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ।

उक्त  दुईवटा प्यानल डिस्कसन आयोजना गरिने पनि बताइएकाे छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरूबारे मन्चन हुनेछ । रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यकमहरूकाे पनि आयोजना गरिने जनाइएकाे छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend