बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘बीआरआई’ कार्यान्वयनमा सचेतता अपनाउन राष्ट्रिय एकता अभियानको आग्रह

‘बीआरआई’ कार्यान्वयनमा सचेतता अपनाउन राष्ट्रिय एकता अभियानको आग्रह

११ कार्तिक ,काठमाडौं । राष्ट्रिय एकता अभियानले चीन सरकारको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) आयोजना कार्यान्वयन गर्दा नेपालले सम्भावित आर्थिक र राजनीतिक खतराबाट जोगिन सचेत रहनुपर्ने आग्रह गरेको छ।

विनय यादव केन्द्रीय अध्यक्ष रहेको सो अभियानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीआरआईका नाममा चीनले अन्य देशहरूमा आफ्ना परियोजना र ऋण प्रवाहमार्फत प्रभाव विस्तार गरेको इतिहास रहेको बताएको छ। श्रीलंका, पाकिस्तान, र मलेसियाले बीआरआई अन्तर्गतका परियोजनाहरूमा कार्यान्वयन  गर्दा आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्दै अभियानका सदस्यहरूले नेपाललाई यस्ता असमान सर्तहरूसँग सचेत रहन सुझाव दिएका छन् । यस्तै परियोजनाको ऋण चुक्ता गर्न नसक्दा श्रीलंकाले हाम्बनटोटा बन्दरगाहलाई ९९ वर्षका लागि चीनलाई सुम्पनुपरेको अवस्थामा पुगेको र पाकिस्तानले चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर (CPEC) अन्तर्गत भारी ऋणभारको दबाब झेलिरहेको प्रसङ्ग उल्लेख गर्दै अभियानले नेपाललाई पनि सम्भावित आर्थिक र राजनीतिक खतराबाट जोगिन आग्रह गरेको छ।

अभियानले सूचना अधिकार (आरटीआई) ऐन अन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गर्दा नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको बताएको छ। तर, चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाडौं चक्रपथ दोस्रो चरण, हिल्सा-सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआई अन्तर्गतको परियोजना भनेर दाबी गरेकामा राजदूतको यस्तो दाबीले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको अभियानले बताएको छ।

“यसले नेपाल र चीनबीचको कूटनीतिक मर्यादामा आँच पुर्‍याएको छ। वियना कन्भेन्सन अन डिप्लोम्याटिक रिलेसन्स (१९६१) अनुसार, कुनै पनि मुलुकका राजदूतले आफू कार्यरत राष्ट्रको कानुनी मर्यादा र सार्वभौमिकतालाई सम्मान गर्नुपर्छ। कन्भेन्सनको धारा ४१ ले स्पष्ट रूपमा राजदूतहरूलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न निर्देशन दिएको छ, जुन मापदण्डलाई राजदूत सोङको पछिल्लो गतिविधिले उल्लङ्घन गरेको ठहरिएको छ।” अभियानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमा अभियानका उपत्यका संयोजक महेश्वरमान वैद्यले चिनियाँ राजदूतको यस्तो झूटो दाबीले नेपालको आर्थिक सुरक्षा र अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पार्न सक्ने बताए। उनले सरकारलाई तुरुन्तै खण्डन गर्न र चिनियाँ दूतावाससँग औपचारिक स्पष्टीकरण माग्न आग्रह गरे। साथै, कूटनीतिक विरोधपत्र पठाई भविष्यमा यस्ता भ्रामक दाबीहरू नगर्न चेतावनी दिनुपर्नेमा जोड दिए।सो पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव सहित केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend