सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

९ कात्तिक, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको बताउनु भएको छ । आफ्नो तीन महिने कार्यकालबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । स्वदेशमै रोजगारीका सम्भावनाहरूको खोजिभइरहेको र त्यसका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको उहाँले बताउनु भयो । प्रत्येक पालिकालाई जब हबको रूपमा विकास गर्न खोजिरहेको उहाँको भनाइ छ ।

यसका लागि बढीभन्दा बढी टेक्नोलोजीको प्रयोग गर्न खोजिरहेको उहाँको भनाइ छ । मन्त्रालयले सबै सिस्टमहरूलाई एकीकृत गर्नका लागि नेमिसको परिकल्पना गरिरहेको उहाँले बताउनु भयो । आफ्नो तीन महिनाको कार्यकालमा नीतिगत सुधारमा राम्रो काम गरेको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले आफ्नो पहिलो प्राथमिकता नीतिगत सुधार रहेको बताउनु भयो ।

रोजगारको क्षेत्रमा धेरै समस्या रहेको बताउँदै ती समस्या समाधानका लागि मन्त्रालयले नीतिगत सुधारमार्फत अघि बढ्न खोजिरहेको मन्त्री भण्डारीले बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा संलग्न श्रमिकको मृत्यु भएमा उपलब्धि हुने क्षतिपूर्ति ७ लाखबाट बढाएर १० लाख पुर्‍याएको बताउनु भयो । श्रमिकको स्वास्थ्य परीक्षण तथा प्रभावकारी सेवा प्रवाहमा सुधारका सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन प्राप्तिको चरणमा रहेको समेत बताउनु भयो ।

त्यस्तै आन्तरिक रोजगार महाशाखा स्थापना तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचनाको प्रक्रिया समेत अगाडि बढाएको उहाँले सुनाउनु भयो । सबै स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा र सूचना प्रविधि विस्तार गरिएको तथा सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको छोराछोरीलाई समेत बीमाको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

विज्ञ समितिबाट श्रम आप्रवासन नीतिको अन्तिम मस्यौदा प्राप्ति र विभिन्न सरोकारवाला संस्था तथा नागरिकबाट प्राप्त सुझावको अध्ययन भइरहेको समेत बताउनु भयो । त्यस्तै आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालनको तयारी समेत भइरहेको उहाँको भनाइ छ । २०८१ असार ३१ गतेदेखि दोस्रो कार्यकालको लागि मन्त्री नियुक्त हुनुभएका भण्डारीले कात्तिक ६ गतेसम्मको कार्य प्रगति सार्वजनिक गर्नु भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend