५ कार्तिक, नेपालगन्ज । पुस ४ देखि १६ गतेसम्म नेपालगन्ज उद्योग वाणिज्य संघले प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ।
आज पत्रकार सम्मेलन गरेर संघले महोत्सव गर्ने जानकारी दिएको हो। ‘उद्योग, व्यापार, कृषि, जडिबुटी र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना गर्न थालिएको महोत्सवमा तीन सय स्टल रहने अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनु भयो ।
लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायीसमेत एउटै स्थानमा समेटेर महोत्सव आयोजना गर्न थालेको र महोत्सवलाई तीन लाख बढीले अवलोकन गर्ने आशा राखिएको छ।
संघका महासचिव भीमबहादुर रानाभाटले पश्चिम नेपालको उद्योग, पर्यटन र कृषि क्षेत्रको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न थालेको र महोत्सवबाट औद्योगिक एवं व्यवसायिक क्षेत्रमा नविन उर्जा थपिने बताउनु भयो । संघले साढे दुई दशकदेखि यस्ता महोत्सव गर्दै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend