१९ असोज, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश संशोधन गरी साधारण सभा बोलाएको छ। विद्युत नियमन आयोगबाट स्वीकृती नपाएपछि कम्पनीले घोषणा गरेको ९.५१३५ प्रतिशत लाभांश संशोधन गरी साधारण सभा बोलाएको हो।
अब कम्पनीले ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १९ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहयक कम्पनी अपि इन्फ्रा लिमिटड कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभामा कम्पनीका शेयरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्रसहित गरी ५ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend