शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाली दक्ष जनशक्ति लैजाने विषयमा जर्मनी र नेपालबीच सम्झौता

नेपाली दक्ष जनशक्ति लैजाने विषयमा जर्मनी र नेपालबीच सम्झौता

२४असोज,काठमाडौं ।  नेपालबाट जर्मनीमा दक्ष श्रमिकको  भर्ना प्रक्रिया आरम्भ हुने भएको छ। यसको लागि   नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानको संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा असोज २३ गते मंगलबार दुई पक्षबीच हस्ताक्षर भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले घोषणा पत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर गर्नुअघि  मन्त्री भण्डारीको नेतृत्वको उच्चस्तरीय टोली र त्यहाँका राज्य सचिव (उपमन्त्री) को नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त अवसरमा दुई पक्षबीच नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसन लगायत विषयमा विचार आदानप्रदान भयो।

भेटमा दुवै पक्षले पछिल्ला वर्षहरूमा दुई देशबीच बढ्दै गएको सम्बन्धप्रति खुसी व्यक्त गरे। घोषणापत्र हस्ताक्षर नेपालबाट जर्मनीमा श्रमिकहरूको न्यायपूर्ण र वैधानिक भर्ना प्रक्रियाको पहिलो कदम हुने उल्लेख गरिएको छ। मन्त्री भण्डारीले मित्रराष्ट्र जर्मनीसँग पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए।

जर्मन अधिकारीहरूले त्यहाँको आवश्यकता अनुसार दक्ष श्रमिक भर्ना प्रक्रिया अघि बढाउने बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend