काठमाडौं,असोज २१ गते । सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने जनाएको छ । काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ ।
खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।
यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ ।
उपभोक्ताले उपभोग्य यस्ता सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ । यसैगरी नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।
काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम(पूर्व र रुकुम(पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् ।
यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend