काठमाडौं । इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औं वार्षिक साधारणसभा यही असोज १२ गते शुक्रबार सम्पन्न गरेको छ। साधारणसभा सङ्गै संस्थाले ‘जिडिपी र इन्जिनियरिङ नेक्सस’ विषयक राष्ट्रिय कार्यशाला पनि आयोजना गरेको थियो ।

सहकारीका निवर्तमान अध्यक्ष इ. मन्दिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले आगामी ३ वर्षको कार्यकालको लागि इ. बिनोद प्रकाश पण्डितको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। त्यससँगै , लेखा सुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको हो।
संस्थाले आर्थिक वर्ष २०७९/०८० को संचित मुनाफाबाट सदस्यहरुलाई ८% नगद वा शेयर लाभांश प्रदान गरेको छ। हाल काठमाडौं महानगरपालिकामा कार्यक्षेत्र रहेकोमा विस्तार गरि बागमती प्रदेशभर संचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
साधारणसभापछि आयोजित राष्ट्रिय अर्थतन्त्रमा इन्जिनियरिङ्ग क्षेत्रले गर्नसक्ने योगदान बारेको सत्रमा चार्टर्ड एकाउन्टेन्ट संस्था ( ICAN ) का पूर्व अध्यक्ष सुदर्शन राज पाण्डेले कार्यपत्र ( Keynote speech) प्रस्तुत गरेका थिए। आर्किटेक्ट स्वरुप गुरुङ कोनेको सभापतित्वमा भएको सिम्पोजियमलाई नेपाल इन्जिनियर संघका अध्यक्ष हरि दर्लामी , नेपाल आर्किटेक्ट समाजका अध्यक्ष ईश्वर लाल जोशी , निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह , नेपाल विद्युत प्राधिकरणका निर्देशक इ. प्रबल अधिकारी लगायतले विषयगत मन्तव्य राखेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend