मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश मिलेर लोकतन्त्रलाई मास्ने काम गरेको आरोप लगाएका छन ।उनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका कारण कांग्रेस कमजोर बन्दै गएको बताए ।
विराटनगर– ४ इक्राहीमा मंगलबार नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन ।कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनबाट मन्त्री नियुक्त गर्नु नै लोकतन्त्र मास्ने बाटो भएको टिप्पणी गरे।
उद्योग वाणिज्य तथा आपूति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्तको विवादमा नैतिकता प्रस्तुत गर्दै राजिनामा दिए झैं कांग्रेस सभापतिले पार्टीको हकमा नैतिकता देखाउन नसकेको आरोप लगाए। प्रदेश १ मा कांग्रेसको सरकार बन्नुपर्नेमा जोड दिएका नेता कोइरालाले प्रधानमन्त्री देउवाकै कारण सत्ताको बागडोर अन्य दलमा गइरहेको बताए।
बागमती प्रदेशमा एकीकृत समाजवादीलाई सत्ता बाँडिए पनि प्रदेश १ मा कांग्रेसको पकड बनाउन सक्नुपर्ने कोइरालाले जोड दिए। पछिल्लो समय राजनीतिमा संस्कारको अभाव हुँदै गएको बताएका कोइरालाले प्रदेश १ मा कांग्रेसले नै सत्ताको जिम्मेवारी लिनुपर्ने अडान लिए।
उनले भने, ‘पार्टीलाई थप सशक्त बनाउन प्रदेश १ मा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ। तर, यसका लागि समेत सभापति बाधक भइरहनु भएको छ। उहाँ प्रदेश १ मा कांग्रेसको सरकार चाहिरहनु भएको छैन। उहाँ प्रस्ट कांग्रेस बाहिरलाई सरकार दिन खोजिरहनु भएको छ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend