काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता साझेदार दलहरुलाई बिहान ११ बजेसम्म मन्त्री बन्नेको नाम बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्। बालुवाटार स्रोतका अनुसार दिउँसो ४ बजे मन्त्रीहरुको सपथग्रहण हुनेछ।
त्यसअघि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्। गठबन्धनका दलहरुले आफूले पाउने मन्त्रालय र संख्या टुंग्याइसकेका छन्।
प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन्।
कांग्रेसबाट प्रधानमन्त्रीसहित पाँचजना मन्त्री भइसकेकाले बाँकी ३ मन्त्रालयमा कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, पुष्पा भुसालमध्ये मन्त्री हुने सम्भावना छ।
कांग्रेसले स्वास्थ्य छाडेर सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ।
माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।
देउवा सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल पहिले नै नियुक्त भइसकेका छन्। माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ।
एकीकृत समाजवादीबाट विरोध खतिवडालाई शहरी विकास, रामकुमारी झाँक्रीलाई स्वास्थ्य, प्रेम आलेलाई पर्यटन र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन्।
समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।
जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्रकुमार सिंह, मोहम्मद इस्तियाक राई, रेणु यादव मन्त्री बन्ने लाइनमा छन्। जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend