शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मन्त्री बन्नेहरुको लिस्ट बोकेर माधवकुमार नेपाल बालुवाटार

मन्त्री बन्नेहरुको लिस्ट बोकेर माधवकुमार नेपाल बालुवाटार

 

फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको लिस्ट बोकेर बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीको निजी आवास बालुवाटारमा बिहीबार बस्ने सत्तापक्षीय गठबन्धनको बैठकमा सहभागी भएसँगै अध्यक्ष नेपालले उक्त लिस्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने छन्।

एकीकृत समाजवादीको स्थायी समिति बैठक सकाएर अध्यक्ष नेपाल बालुवाटार पुगेका हुन्। एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्थायी समितिले दिएको म्यान्डेटअनुसार अध्यक्ष नेपालले मन्त्री बन्ने नेताहरुको लिस्ट साथमा लगेको जानकारी दिए।

उनका अनुसार बैठकले पार्टीलाई दिएको मन्त्रालयको संख्या अपुग भएकाले गठबन्धनको बैठकमा थप संख्या माग्न अध्यक्ष नेपाललाई निर्देशन दिएको छ। सहमतिअनुसार थप मन्त्रालयको संख्या माग्ने र लगत्तै मन्त्री बन्नेहरुको लिस्ट प्रधानमन्त्रीलाई बुझाउने नेता खतिवडाले बताए।

‘स्थायी समिति बैठकमा बाँडिएको मन्त्रालय अपुग भएकाले थप माग्ने कुरा भएको छ’, उनले भने, ‘सोहीअनुसार अध्यक्षज्यूले मन्त्री बन्नेहरुको लिस्ट साथमा लानुभएको छ। बैठकमा थप मन्त्रालय माग्न भनेका छौं। बैठकमै मन्त्री बन्नेहरुको लिस्ट प्रधानमन्त्रीलाई बुझाउनुहुनेछ।’

सत्ता गठबन्धनले बाँडफाँट गरेअनुसार एकीकृत समाजवादीको भागमा चार मन्त्रालय र एक राज्यमन्त्री परेको छ। तर पार्टीमा मन्त्रीका आकांक्षी धेरै तर मन्त्रालय कम भएकाले मिलाउन सकस भएकाले यसले गठबन्धनभित्र थप मन्त्रालय माग गरिरहेको छ। सत्ता गठबन्धन निर्माणमा आफ्नो पार्टी निर्णायक भएकाले सोहीअनुसार मन्त्रालय पाउनुपर्ने उनको तर्क रहँदै आएको छ।

एकीकृत समाजवादीका नेता खतिवडाले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताए। एकीकृत समाजवादीबाट नेता खतिवडासँगै रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ मन्त्री बन्ने लाइनमा छन्। देशसंचारबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend