फाईल तस्विर
काठमाडौं । सरकारले लामो समयदेखि मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन । अझै गठबन्धनवीच मन्त्री छनौट प्रक्रियामा अलमलको अबस्था छ । यहि वीचमा गठबन्धन दल मध्यको एक माओवादी केन्द्रले मन्त्री छनौट प्रक्रिया टुंग्याएको दावी गरेको छ ।
माओवादी केन्द्र स्रोतका अनुसार, हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाट मन्त्रालयहरुको टुंगो लागेको स्रोतले बतायो । माओवादीले शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय पाउने भएको छ ।
त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय पनि माओवादीले पाउने भएको छ । यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको स्रोतले जनायो ।
देउवा र प्रचण्डबीच सोमबार टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले बतायो । मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।
माओवादी नेता भन्छन्, ‘हाम्रो स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ ।’ माओवादीबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लागिसकेको स्रोतले बतायो । माओवादी पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ ।
बाँकी एउटा मन्त्रालयमा प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये एकजना पर्न सक्ने स्रोतले बतायो । अब सत्ता गठबन्धनवाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाले मन्त्री चयन गर्न बाँकी छ ।
त्यसो त सोमबार बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले माओवादीबाट प्रस्तावित तीन मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई टिपाइसकेको बालुवाटार स्रोतको दाबी छ । तर, त्यो दाबीको खण्डन गर्दै माओवादीका एक नेताले भने, ‘हाम्रो स्थायी कमिटी बैठक नै नबसी नाम बुझाउने कुरै हुँदैन, स्थायी कमिटीको बैठकले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend