काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका ‘१० भाइ’ले आफूहरूलाई झुक्याएर केपी शर्मा ओलीसँग ‘आत्मसमर्पण’ गरेको भनेर आलोचना गरेपछि एमाले उपाध्यक्ष भीम रावलले कडा प्रश्न गरेका छन्।
‘एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’ भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ’, सोमबार राति सामाजिक सञ्जालमार्फत रावलले प्रश्न गरेका छन्, ‘एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर जनयुद्धबाट सत्ता हत्याउँछु भन्नेले गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागी पद हत्याउँदा आत्मसम्मान हुने ?’
नेकपा छँदा ओलीको तीव्र विरोध गर्दै माधव नेपालको समूहमा रही आफूनिकट रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत दोस्रो पुस्ताका १० जना एमाले नेता सर्वोच्च अदालतको फैसलाका कारण नेकपा भंग भई एमाले र माओवादी केन्द्र अलग भएपछि अन्ततः ओली समूहमै समावेश भएका हुन्। माधव नेपालले एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनीहरु एकाएक नेपालको साथ छाड्दै एमालेमै रहेका हुन्।
यसप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले सोमबार एक कार्यक्रममा एमालेका १० भाइले आफूहरूलाई झुक्याएर आत्मसर्पण गरेको आरोप लगाएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend