काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा डि आर उपाध्यायको १२ औं उपन्यास ‘मेरी प्रिया’ शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा उपाध्याय लगातले संयुक्त रुपमा लोकार्पण गरेका हुन । उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गरेका थिए भने प्रमुख अतिथि र अन्य अतिथिहरूले टिप्पणी गरेका थिए ।
टिनएजरलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषयवस्तु र जातिय विभेदका कुरा उठान गरिएको उनीहरुले बताए । पुस्तकले हाम्रो समाजका धेरै कुराहरूलाई उजागर गरेको भन्दै पढदा आनन्द मिल्ने उनीहरूको जिकिर थियो ।
४२ भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ । डा उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । गीत संगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend