आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

यातायात क्षेत्रमा सुधारका ११ बुँदे कार्यक्रम सार्वजनिक

यातायात क्षेत्रमा सुधारका ११ बुँदे कार्यक्रम सार्वजनिक

काठमाडौं । प्रजातान्त्रिक पार्टी, नेपालको यातायात व्यवस्था विभागले देशको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित, प्रविधिमैत्री र सेवामुखी बनाउन ११ बुँदे भावी कार्यक्रम सार्वजनिक गरेको छ। विभागले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यातायात क्षेत्र सुधारका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रम विभागका संयोजक तथा पार्टीका महामन्त्री होमप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष तारानाथ लुइटेल, वरिष्ठ उपाध्यक्ष विष्णु भट्टराईलगायतले यातायात क्षेत्रको वर्तमान अवस्था, समस्या तथा सुधारका आवश्यकताबारे धारणा राखेका थिए।

विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार यातायातसम्बन्धी विद्यमान ऐन, नियम तथा कानुनी व्यवस्थामा समयानुकूल सुधार गर्ने प्रस्ताव गरिएको छ। यातायात क्षेत्रमा रहेका विभिन्न प्रकारका कर तथा शुल्कलाई एकीकृत र सरल बनाउने, सेवाग्राहीले भोग्दै आएका झन्झटिलो कागजी प्रक्रियालाई हटाएर अनलाइन प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्ने कार्यक्रम पनि अघि सारिएको छ।

त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरणका लागि वैज्ञानिक सडक तथा सवारी सुरक्षा प्रणाली विकास गर्ने र दुर्घटनाबाट प्रभावित यात्रु तथा परिवारलाई सहज रूपमा क्षतिपूर्ति उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा विभागले जोड दिएको छ। सवारीसाधनको गुणस्तर सुनिश्चित गर्दै गुणस्तरीय सवारीसाधन तथा स्पेयर पार्ट्सको आयातलाई व्यवस्थित गर्ने प्रस्ताव पनि कार्यक्रममा समेटिएको छ।

यातायात व्यवसायलाई व्यवस्थित र यात्रुमैत्री बनाउन वैज्ञानिक भाडा प्रणाली लागू गर्ने, यात्रु तथा यातायात मजदुरका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्ने र देशका प्रमुख स्थानमा व्यवस्थित पार्किङ तथा चालक–सहचालकका लागि विश्रामस्थल निर्माण गर्ने प्रस्ताव विभागले गरेको छ।

यातायात क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन तथा नियमन गर्न छुट्टै सवारी तथा परिवहन मन्त्रालय गठन गर्नुपर्ने र यातायात व्यवसाय तथा पूर्वाधार विकासका लागि ‘ट्रान्सपोर्ट बैंक’ स्थापना गर्ने अवधारणासमेत विभागले अघि सारेको छ। विभागका अनुसार यस्तो संस्थाले यातायात क्षेत्रको लगानी, वित्तीय पहुँच तथा पूर्वाधार विकासमा सहयोग पुर्‍याउन सक्नेछ।

कार्यक्रममा देशभर सवारीसाधनको बडी निर्माण तथा मर्मत–सम्भारका लागि आवश्यक कारखाना तथा प्राविधिक पूर्वाधार विस्तार गर्ने प्रस्ताव गरिएको छ। विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनलगायत आवश्यक पूर्वाधार निर्माण तथा विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

पत्रकार सम्मेलनमा यातायात क्षेत्रलाई केवल सवारी सञ्चालनको विषयका रूपमा नभई रोजगारी, उद्योग, पर्यटन, व्यापार तथा समग्र आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिएको थियो। विभागले प्रस्ताव गरेका कार्यक्रम कार्यान्वयनमा आए यातायात सेवाको गुणस्तर सुधारसँगै यात्रु, व्यवसायी तथा यातायात मजदुरले भोग्दै आएका विभिन्न समस्या समाधान गर्न सहयोग पुग्ने जनाएको छ।

यसैबीच, विभागले हालै नुवाकोटको केरुङ क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विभागले विपद्का कारण यातायात पूर्वाधारमा परेको असरलाई समेत ध्यानमा राख्दै सडक तथा यातायात संरचनालाई थप सुरक्षित र विपद् प्रतिरोधी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend