काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आगामी असोज ८ गतेदेखि १२ गतेसम्म देशका विभिन्न भू–भागमा प्रतिकूल मौसमजन्य जोखिम बढ्न सक्ने भन्दै देशभरका सदस्य विद्यालयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्याब्सन केन्द्रीय कार्यसमितिले २०८३ असोज ७ गते जारी गरेको सूचनामार्फत सम्बन्धित निकायबाट जारी मौसमसम्बन्धी पूर्वानुमान तथा सूचनालाई ध्यानमा राख्दै उक्त अवधिमा वर्षाको मात्रा बढ्न सक्ने, केही स्थानमा भारीदेखि अति भारी वर्षा, हावाहुरी, आँधीबेहरी र चट्याङका साथै बाढी, डुबान तथा पहाडी एवं हिमाली क्षेत्रमा पहिरोको जोखिम उत्पन्न हुन सक्ने जनाएको हो।
प्याब्सनले बालबालिका तथा विद्यालय परिवारको सुरक्षा, संरक्षण र सहज आवागमनलाई सर्वोच्च प्राथमिकता दिन सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ। विद्यालयले आफ्नो स्थानीय भौगोलिक अवस्था, सडक तथा यातायातको स्थिति, विद्यालय परिसरको सुरक्षा, नदी–खोला तथा पहिरोको सम्भावित जोखिम र स्थानीय तह तथा प्रशासनबाट प्राप्त सूचनाको मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी गर्नुपर्नेमा प्याब्सनले जोड दिएको छ।
विद्यालय सञ्चालन गर्दा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षित आवागमनलाई पहिलो प्राथमिकतामा राख्न, स्थानीय परिस्थितिअनुसार विद्यालय सञ्चालन तथा शैक्षिक गतिविधिको व्यवस्थापन गर्न र विद्यालय परिसर, भवन, छाना, विद्युत् प्रणाली, खानेपानी, खेलमैदानलगायत भौतिक संरचनाको पूर्वसुरक्षा परीक्षण गर्न प्याब्सनले अनुरोध गरेको छ।
त्यस्तै, नदी, खोला तथा पहिरोको सम्भावित क्षेत्र र जोखिमयुक्त सडकमार्गबाट आवतजावत गर्ने विद्यार्थी तथा कर्मचारीका विषयमा विशेष सावधानी अपनाउन तथा आवश्यक समन्वय गर्न विद्यालयहरूलाई आग्रह गरिएको छ। अभिभावकसँग प्रभावकारी सूचना तथा समन्वय कायम गरी विद्यार्थीको सुरक्षित आवागमन र जिम्मेवार निर्णय प्रक्रियालाई सहज बनाउनसमेत प्याब्सनले भनेको छ।
स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा चेतावनीलाई विद्यालय सञ्चालनसम्बन्धी निर्णयको प्राथमिक आधार बनाउनुपर्ने प्याब्सनको भनाइ छ। स्थानीय मौसम तथा सुरक्षा अवस्था असहज वा जोखिमपूर्ण देखिएमा विद्यालयले आफ्नो परिस्थितिको मूल्याङ्कन गरी विद्यालय सञ्चालनको समय परिवर्तन, वैकल्पिक सिकाइ वा अन्य उपयुक्त शैक्षिक उपाय अवलम्बन गर्दै शैक्षिक निरन्तरता कायम गर्नसमेत अनुरोध गरिएको छ।
प्याब्सनले ‘सुरक्षित विद्यालय, सुरक्षित विद्यार्थी र गुणस्तरीय शिक्षा’लाई आफ्नो मूल भावना रहेको उल्लेख गर्दै प्रतिकूल मौसमका बेला सबै विद्यालयका लागि एउटै निर्णयभन्दा स्थानीय अवस्था, जोखिमको वास्तविकता र सम्बन्धित निकायबाट प्राप्त आधिकारिक सूचनाका आधारमा विद्यालयस्तरबाट विवेकपूर्ण तथा जिम्मेवार व्यवस्थापन गर्न उपयुक्त हुने जनाएको छ।
प्याब्सन महासचिव आरबी कटुवाल र उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले संयुक्त रूपमा जारी गरेको सूचनामा विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीबीच आपसी विश्वास, सहकार्य र निरन्तर सञ्चार कायम राख्न आग्रह गरिएको छ। कुनै पनि परिस्थितिमा मानवीय सुरक्षा र बालबालिकाको हितलाई शैक्षिक गतिविधिभन्दा माथि राखेर निर्णय लिनसमेत प्याब्सनले अपिल गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend