काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। भक्तपुरको दुवाकोटस्थित कलेजको मल्टिपर्पोज हलमा शुक्रबार आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीको आगामी व्यावसायिक योजनासम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरेको छ।
सभामा सञ्चालक समितिका तर्फबाट कार्यकारी अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको हो। त्यस्तै, कम्पनीको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ।
साधारणसभामा शेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गरिएको छ। आर्थिक वर्ष २०८२/८३ को नाफा तथा वितरणयोग्य सञ्चित मुनाफाबाट करसहित उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारिएको हो। साथै, कम्पनीको नियमावलीको नियम ३२ बमोजिम कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधासम्बन्धी विषयमा समेत छलफल भएको जनाइएको छ।
काठमाडौं मेडिकल कलेजले स्वास्थ्य सेवाको विस्तार र अस्पतालको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। अस्पतालको स्तरवृद्धिका लागि आधुनिक स्वास्थ्य उपकरण खरिद गर्ने, सेवा सञ्चालनका आवश्यकताअनुसार घरजग्गा खरिद गर्ने तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव सभामा प्रस्तुत गरिएको थियो।
कम्पनीले स्वास्थ्य क्षेत्रबाहेक लगानीका अन्य सम्भावित क्षेत्रलाई समेत आफ्नो व्यावसायिक विस्तारको योजनामा समेटेको छ। समान उद्देश्य भएका कम्पनीहरू खरिद गर्ने तथा हाइड्रो इनर्जी र सोलार इनर्जीसम्बन्धी कम्पनीहरूको शेयरमा लगानी गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा राखिएको थियो।
कलेजले आगामी दिनमा स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै अस्पतालका पूर्वाधार, आधुनिक उपकरण तथा उपचार सेवाको विस्तारलाई निरन्तरता दिने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend