आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

परिचित बचत तथा ऋण सहकारीको १८औँ साधारणसभा सम्पन्न

परिचित बचत तथा ऋण सहकारीको १८औँ साधारणसभा सम्पन्न

ललितपुर । परिचित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुसुन्ती ललितपुरको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति प्रतिवेदनअनुसार भदौ २७, २०८३ मा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षणसम्बन्धी प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट, संस्थाका विभिन्न नीति तथा कार्यविधि तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ ।

 साधारणसभाले सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनसम्बन्धी प्रस्ताव पनि अघि बढाएको छ । साथै, संस्थाका विभिन्न उपसमितिले गरेका निर्णय अनुमोदन गर्ने तथा सञ्चालक, लेखा समिति र उपसमितिका पदाधिकारीको भत्ता तथा व्यवस्थापन पक्षका कर्मचारीको पारिश्रमिक तोक्नेसम्बन्धी प्रस्तावमाथि समेत निर्णय गरिएको छ ।

सभाले संस्थाको सम्पत्ति तथा गैरसम्पत्ति बिक्री गर्ने आवश्यक अख्तियारी, सफ्टवेयर परिवर्तन तथा विद्युतीय उपकरण खरिदसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिएको छ ।

संस्थाको वार्षिक प्रतिवेदनअनुसार परिचित बचत तथा ऋण सहकारीको शेयर पुँजी ५ करोड रुपैयाँ कायम रहेको छ । गत आर्थिक वर्षको मसान्तसम्म संस्थाको चुक्ता शेयर पुँजी ३ करोड २५ लाख ३ हजार रुपैयाँ रहेको र शेयर पुँजीलाई क्रमिक रूपमा चुक्ता गर्दै लैजाने नीति संस्थाले लिएको छ ।

संस्था नेपाल सरकारको सहकारी ऐनअनुसार स्थापना भएको हो । यसको मुख्य कार्यालय ललितपुर महानगरपालिका–१३, कुसुन्तीमा रहेको छ । संस्थाको कार्यक्षेत्र ललितपुर महानगरपालिकाका वडा नम्बर ३, ४, ५, १३ र १५ मा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थामा ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति रहेको छ । संस्थाको व्यवस्थापनतर्फ ८ जना कर्मचारी कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ । सदस्यलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले सफ्टवेयरसमेत जडान गरी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आएको जनाएको छ ।

संस्थाले सहकारी विभागले जारी गरेको एकीकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) तथा ललितपुर महानगरपालिकाको आर्थिक विकास महाशाखा र सहकारी व्यवस्थापन शाखासँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमहरूमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ ।

संस्थाले सदस्यहरूको सानो–सानो बचतलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने तथा सदस्यहरूलाई सहज र सरल प्रक्रियाबाट ऋण उपलब्ध गराउने उद्देश्य राखेको छ । नियमित मासिक बचत, साधारण बचत, खुत्रुके बचत, बालबालिका बचत, ज्येष्ठ नागरिक बचत, नारी बचत, विशेष बचत तथा आवधिक बचतलगायत विभिन्न बचत योजना सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सदस्यहरूको आर्थिक हितलाई केन्द्रमा राख्दै बचत तथा ऋण कारोबारमार्फत सदस्यको वित्तीय आवश्यकता पूरा गर्न तथा रोजगारीमूलक व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

साधारणसभामा संस्थाले सहकारीका नीति, सिद्धान्त तथा भावनालाई आत्मसात् गर्दै सदस्यबीच सहकार्य र विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ । संस्थाले मध्यम वर्गीय तथा कृषक समुदायसँग रहेको सानो पुँजीलाई एकीकृत गरी सदस्य तथा समुदायको आर्थिक समृद्धितर्फ परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend