काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरणसँगै बोनस शेयरपछिको कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको १७औँ वार्षिक साधारणसभा आश्विन १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा शेयरधनीहरूको बाक्लो उपस्थितिबीच सम्पन्न भएको हो।
साधारणसभामा कम्पनीका अध्यक्ष धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बोनस तथा हकप्रद शेयरसम्बन्धी प्रस्ताव सार्वजनिक गरेका हुन्। प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँमा १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ पुग्नेछ।
बोनस शेयर वितरणपछि कायम हुने २ करोड ६६ लाख २५ हजार ३७५ कित्ता शेयरको आधारमा कम्पनीले ५० प्रतिशत अर्थात् करिब १ करोड ३३ लाख १२ हजार ६८८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ। हकप्रद शेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी करिब ३ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।
प्रस्तावित पुँजी वृद्धिलाई वैधानिकता प्रदान गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि साधारणसभामा प्रस्तुत गरिएको छ। उक्त संशोधनका लागि आवश्यक विवरणसहितको प्रस्ताव अघि बढाइएको कम्पनीले जनाएको छ।
सुपर मादी हाइड्रोपावरको प्लान्ट सञ्चालन तथा कर्मचारी व्यवस्थापनको कार्य हाल ‘व्यवस्थापन हाइड्रोपावर मेनेजमेन्ट सर्भिस प्रा.लि.’ सँगको सम्झौतामार्फत हुँदै आएको छ। कम्पनीले व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यलाई सम्झौताअनुसार अघि बढाउँदै आएको जनाएको छ।
सभाको समापनमा अध्यक्ष आचार्यले कम्पनीको प्रगतिमा निरन्तर साथ र सहयोग प्रदान गर्ने शेयरधनी, नेपाल विद्युत् प्राधिकरण, लगानीकर्ता बैंक, बीमा कम्पनी, नियमनकारी निकाय, आयोजना प्रभावित स्थानीय बासिन्दा, कर्मचारी तथा लेखापरीक्षकहरूप्रति आभार व्यक्त गरेका छन्। कम्पनीले आगामी दिनमा पनि शेयरधनी तथा सरोकारवालाको सहकार्यमा आफ्नो गतिविधि अघि बढाउने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend