काठमाडौं । घरजग्गा तथा निर्माण क्षेत्रका व्यवसायीहरूले हदबन्दी, कित्ताकाट र लगानीसम्बन्धी नीतिगत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो (२०८३) को उद्घाटन समारोहमा व्यवसायीहरूले आवास विकास, निजी लगानी र पूर्वाधार निर्माणसँग जोडिएका विभिन्न विषय उठाएका हुन्।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा एक्स्पो सुरु भएको हो। चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले दीप प्रज्वलन गरी गरेका थिए।
उद्घाटन समारोहमा सभामुख अर्यालले रियल स्टेट व्यवसायीहरूले भोग्दै आएका हदबन्दीलगायतका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए। उनले आवश्यक समन्वयका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै साना व्यवसायी तथा दूरदराजका नागरिकका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीमा रहेका नेपाली र युवा पुस्तालाई स्वदेशमै लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गा व्यवसायलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै गैरआवासीय नेपालीलाई अपार्टमेन्ट बिक्री गर्न सकिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने धारणा पनि राखे।
कार्यक्रमका सभापति तथा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले हदबन्दी र कित्ताकाटको दीर्घकालीन समाधान नखोजिए घरजग्गा व्यवसाय प्रभावित हुने बताए। बाढीपीडितको पुनर्वासमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले पृथ्वी राजमार्गको विकल्पका रूपमा थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङ मार्ग निर्माण गर्न सकिने प्रस्ताव अघि सारे।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा क्षेत्रको सुधारका लागि विभिन्न नीतिगत माग प्रस्तुत गरे। उनले दर्तावाल कम्पनीहरूलाई हदबन्दी छुट दिनुपर्ने, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याउनुपर्ने, तीन करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीलाई मान्यता दिनुपर्ने तथा घरजग्गा क्षेत्रलाई उत्पादनमूलक उद्योगको दर्जा दिनुपर्ने माग राखे।
एक्स्पो आयोजना समितिका संयोजक रोशन भोयध्योका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी स्टल राखिएका छन्। असोज ४ गतेसम्म सञ्चालन हुने एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ। प्रदर्शनीमा घरजग्गा तथा निर्माण क्षेत्रसँग सम्बन्धित सामग्री, प्रविधि र सेवाहरूको प्रदर्शनसँगै वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकासका विषयमा उच्चस्तरीय प्राविधिक सेमिनार र प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend