काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्याइरहेका बेला सेञ्चुरी ग्रुपका अध्यक्ष एवं पूर्वमन्त्री मोती दुगड परिवारले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि एक करोड एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।
दुगड परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद प्रदान गरेको छ भने बाढी प्रभावित परिवारका लागि आवश्यक खाद्यान्न तथा राहत सामग्री व्यवस्थापन गर्न थप ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो।
बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै दुगडले विपत्तिको घडीमा राज्यको प्रयाससँगै निजी क्षेत्र र नागरिक समाजको सहकार्य अपरिहार्य रहेको बताए।
उनका अनुसार बाढीले धेरै परिवारको घर, सम्पत्ति र जीविकोपार्जनमा अपूरणीय क्षति पुर्याएको अवस्थामा राहत केवल रकम वितरणमा सीमित हुनु हुँदैन। प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी बसोबास तथा अन्य आधारभूत सहयोग उपलब्ध गराउनु अहिलेको प्राथमिकता भएको उनले बताए।
‘प्राकृतिक विपत्तिको समयमा मानवता र सामूहिक एकता नै सबैभन्दा ठूलो शक्ति हो,’ दुगडले भने, ‘सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकले पनि आफ्नो क्षमताअनुसार प्रभावित परिवारको साथमा उभिनुपर्छ।’
दुगडले विपत्तिमा परेका नागरिकलाई आर्थिक सहयोगसँगै मानवीय साथ र भरोसा पनि आवश्यक रहेको बताए। बाढीबाट परिवारका सदस्य गुमाएका, घरबारविहीन भएका तथा आफ्नो जीविकाको आधार गुमाएका नागरिकको मनोबल उच्च राख्न सामाजिक तथा मानवीय सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ।
सेञ्चुरी ग्रुपले बाढी आएको प्रारम्भिक चरणदेखि नै प्रभावित क्षेत्रमा राहत तथा सहयोग परिचालन गरिरहेको जनाएको छ। आगामी दिनमा स्थानीय आवश्यकता र क्षतिको अवस्थालाई मूल्यांकन गर्दै थप सहयोगलाई निरन्तरता दिने दुगडले प्रतिबद्धता जनाएका छन्।
राहत घोषणामा मात्र सीमित नरही दुगडले केही दिनभित्रै भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफैँ पुगेर स्थलगत अवस्था बुझ्ने बताएका छन्। स्थानीय नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको तत्कालीन आवश्यकता पहिचान गरेर थप मानवीय सहायता कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ।
बाढीपछि कतिपय क्षेत्रमा उद्धार र राहतको आवश्यकता अझै कायम रहेको अवस्थामा निजी क्षेत्रबाट प्राप्त सहयोगले प्रभावित परिवारसम्म तत्काल आवश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
पूर्वसांसद तथा पूर्वमन्त्रीसमेत रहेका दुगड विगतदेखि नै सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आएका छन्। कोभिड–१९ महामारी र बन्दाबन्दीका समयमा पनि उनले विपन्न तथा समस्यामा परेका हजारौँ परिवारलाई खाद्यान्न र राहत सामग्री उपलब्ध गराएका थिए।
भोटेकोशी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अवस्थामा दुगड परिवारको पछिल्लो सहयोगलाई निजी क्षेत्रबाट भइरहेको राहत अभियानमा उल्लेख्य योगदानका रूपमा लिइएको छ। दुगडले भने विपत्तिको पीडा कम गर्न एकपटकको सहयोगभन्दा पनि आवश्यकता रहेसम्म निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend