४ असोज,काठमाडौँ । काठमाडौँ । नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गर्दा यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष तयारी थालेको छ। यसै सन्दर्भमा शनिबार मन्त्रालयमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरिएको छ।
छलफलमा यात्रुको चापलाई मध्यनजर गर्दै सडकको अवस्था, सवारी साधनको उपलब्धता, भाडादर, र सुरक्षासम्बन्धी पक्षमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ। चाडपर्वको समयमा सडकमा हुने अवरोध, खाल्डाखुल्डी तथा अन्य समस्या समाधानका लागि तत्काल पहल गर्ने र वर्षाको कारण बिग्रिएका सडक खण्डहरूको मर्मतमा प्राथमिकता दिने निर्णय गरिएको छ।
यात्रुको माग पूरा गर्न अपुग सवारी साधन व्यवस्थापन गर्ने र सम्भव भएसम्म नयाँ सवारी थप गर्ने वा उपलब्ध साधनलाई पूर्ण क्षमतामा प्रयोग गर्ने तयारी भएको छ।
यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन मन्त्रालयले यात्रुहरूलाई संयमित भएर नियम पालना गर्न आग्रह गरेको छ। साथै, यस कार्यमा सबै निकाय र नागरिकको साथ आवश्यक रहेको भन्दै चाडपर्वको यात्रालाई सुरक्षित र सुखद बनाउन सबैले सहयोग गर्नुपर्ने मन्त्री कुलमान घिसिङले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend