४ असोज, काठमाडौं । पेशागत महासंघ नेपालले असोज २ गते बसेको २६औं सचिवालय बैठकका विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष पून्य प्रसाद ढकालले जारी गरेको विज्ञप्ति अनुसार बैठकले गत भाद्र २३ र २४ गते जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनमा ज्यान गुमाउने नागरिक, सुरक्षाकर्मी तथा अन्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित सुरू गरिएको आन्दोलनप्रति समर्थन जनाउँदै यसबीच देखिएका हिंसात्मक गतिविधिप्रति गहिरो दुःख प्रकट गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न आग्रह गरिएको छ । बैठकले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने सरकारी रवैया, मुख्य सचिवको भूमिका, कर्मचारी सेवाप्रवाहमा देखिएका कमजोरी, संवैधानिक अस्पष्टता लगायतका विषयमा प्रारम्भिक समीक्षा गरेको छ ।
त्यस्तै, संघीय सरकारका मुख्य सचिवको अध्यक्षतामा भाद्र ३१ गते बसेको सचिवस्तरीय बैठकबाट संघीय सेवामा रहेका १० हजार कर्मचारी कटौती गर्ने निर्णयप्रति महासंघले गम्भीर आपत्ति जनाएको छ । निर्वाचनको घोषणा भइसकेको अवस्थामा यस्तो निर्णय कानूनी तथा व्यवहारिक दृष्टिले अनुचित भएको ठहर गर्दै महासंघले सो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । साथै, वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकले विषम परिस्थितिमा सेवा निरन्तरता दिने स्वास्थ्यकर्मी, प्राविधिक, स्वयंसेवक र सरसफाइकर्मीप्रति उच्च सम्मान प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । आन्दोलनका क्रममा क्षति पुगेका सरकारी तथा निजी सवारीसाधनको विवरण संकलन गरी महासंघलाई उपलब्ध गराउन समेत अपिल गरिएको छ । आन्दोलनका असरबारे भएको सामान्य समीक्षाबाट प्राप्त सुझावहरू सम्बन्धित पार्टी तथा सरकारलाई उपलब्ध गराई कार्यान्वयन गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी महासंघले आफ्ना कार्यालय कर्मचारी दिवाकर पाण्डेका बुवा नोकप्रसाद पाण्डे र स्थायी समिति सदस्य नानीमैया दाहालका बुवा धिरनाथ दाहालको असामयिक निधनमा श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, राष्ट्रिय सल्लाहकार कुलबहादुर आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
बैठकले आगामी दशै, तिहार, नेपाल सम्वत र छठ लगायतका पर्वको अवसरमा सम्पूर्ण पेसाकर्मी तथा नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै समापन भएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend