सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आन्दोलनमा भएको क्षति भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने बीमा संघको प्रतिवद्धता

आन्दोलनमा भएको क्षति भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने बीमा संघको प्रतिवद्धता

 

 

३ असोज, काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएको छ । संघले बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिमा हालको परिस्थितिमा बीमाको महत्व अझै बढेको उल्लेख गर्दै बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्वअनुसार बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्ररूपमा अघि बढाइरहेको जनाएको छ । बीमित सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी प्राप्त विवरणको आधारमा दावी भुक्तानीलाई प्राथमिकतामा राखेर टुंगोमा पुर्‍याइने स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका प्रतिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार तथा यातायात क्षेत्रमा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले बीमा कम्पनीहरूलाई दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्न आह्वान गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडै बीमा कम्पनीमा बुझाउन अपिल गर्दै दावी प्रक्रिया सहज बनाउन सहयोग गर्न आग्रह गरेका छन् । साथै, बीमा कम्पनीहरूले दावी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्‍याउने उद्देश्यका साथ सक्रियतापूर्वक काम गरिरहेको पनि अध्यक्ष मल्लले बताएका छन् ।

उनले २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गहिरो रूपमा महसुस गराएको स्मरण गर्दै हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता आशाजनक रहेको पनि बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend