२ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देशमा रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी, बागमती, मधेस, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो र जलमग्नताबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend