३१ भदौं, काठमाडौँ । दशैंको समयमा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सार्वजनिक सवारीसाधनमा अब कम्तीमा दुई चालक अनिवार्य रहने भएका छन्। यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले लामो दूरीमा चल्ने यात्रुवाहक सवारीसाधनमा दुई चालक राखी आलोपालो सवारी चलाउने व्यवस्था अनिवार्य गर्ने निर्णय गरेको हो। यस व्यवस्था कार्यान्वयनको अनुगमन प्रहरीद्वारा गरिनेछ।
बैठकले १८ वर्ष नपुगेका व्यक्तिलाई चालकको रूपमा प्रयोग गर्न नपाइने प्रावधानलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। यात्रुहरूको सहजीकरणका लागि उपत्यकाबाट बाहिरिने तथा भित्रिने मुख्य नाकाहरू—नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुनधारा तथा काभ्रेको साँगामा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ। यसका लागि सिप्रदी–रनाडा, काठमाडौँ महानगरपालिका लगायतका संस्थाको सहकार्य रहनेछ।
चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनमा चाप अत्यधिक बढ्ने र सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रभावकारी अनुगमन र निगरानीलाई अझै कडाइ गर्ने निर्णय पनि बैठकले गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend