२८ भदौं, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले जेन जी आन्दोलनका कारण नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुगे पनि निजी क्षेत्र अझै अडिग रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका भूकम्प, महामारी र अहिलेको आन्दोलनलाई ‘वज्रपात’को रूपमा व्याख्या गरे।
उनले भने, “हाम्रो मुलुकमा हरेक १० वर्षमा उथलपुथल हुन्छ। भूकम्प र कोभिडपछि अहिले फेरि ठूलो वज्रपात आयो। हाम्रो अर्थतन्त्र विस्तारै तङ्ग्रिँदै थियो, तर फेरि ठूलो झट्का खायो। तर हामी नभाँचिएका छौं, निजी क्षेत्र अझै मजबुत छ र अगाडि बढ्न तयार छ।”
मल्लले आन्दोलनका क्रममा तोडफोड, आगजनी र निजी क्षेत्रमा भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै यस्तो हिंसा गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले जेन जी आन्दोलनमा घुसपैठ भएको चर्चा भएको उल्लेख गर्दै “जसले गल्ती गरेको छ, उसलाई सजाय हुनुपर्छ,” भने।
देशको नेतृत्वमा रहेकाहरूले जिम्मेवारी पूरा नगरेको आरोप लगाउँदै उनले भने, “हाम्रो नेताहरूले मपाइँत्व देखाए, बुढो भएपछि पनि समयमा अवकाश लिएनन्। यसैका कारण मुलुक संकटमा छ।” नयाँ सरकारले विज्ञहरूको सल्लाह लिनुपर्ने र नीति निर्माणमा व्यावसायिक दृष्टिकोण अपनाउनुपर्ने उनको भनाइ थियो।
पूर्व अध्यक्ष मल्लले विगतका सबै आन्दोलनले अर्थतन्त्रलाई तहसनहस बनाएको स्मरण गर्दै अबको विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारीमा रहेको बताए। उनका अनुसार, “प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा खर्च कम हुन्छ, निर्णय छिटो हुन्छ, मुलुक स्थायित्वतर्फ जान्छ।”
उनले जेन जी आन्दोलनका क्रममा मृत्यु भएका युवालाई शहीद घोषणा गर्नुपर्ने माग पनि राखे। साथै उनले आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई सुझाव दिए।
मल्लले अब देशमा लगानीमैत्री वातावरण बनाउनुपर्ने उल्लेख गर्दै भने, “विदेशबाट आएको पैसा बैंकमा थन्काउने होइन, राष्ट्रिय पूर्वाधार र जलविद्युत परियोजनामा लगानी गर्नुपर्छ। युवालाई स्वदेशमै काम गर्ने वातावरण मिलाउन सके मात्र यो मुलुक बाँच्छ।”
उनले अन्तरिम सरकारलाई अवसरका रूपमा लिनुपर्ने र राजनीतिक स्थायित्वमार्फत मात्र आर्थिक विकास सम्भव हुनेमा जोड दिए। उनका अनुसार, नेपाल अहिले संवेदनशील मोडमा छ र यदि सुधारको बाटो नलिइए अर्थतन्त्रलाई ठुलो जोखिम पर्न सक्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend