२७ भदौं, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनाले राष्ट्रिय राजश्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गम्भीर असर पार्ने नेपाल उद्योग वाणिज्य महासंघले चेतावनी दिएको छ। निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसके अर्थतन्त्र थप संकटमा फस्ने र निकट भविष्यमा राजश्व संकलनमा समेत नकारात्मक प्रभाव पर्ने महासंघको भनाइ छ।
‘आम नागरिक र उद्यमी व्यवसायीले शान्तिपूर्ण वातावरणमा आफ्नो पेसा–व्यवसाय सञ्चालन गर्न पाउने सुनिश्चित गर्न आवश्यक सुरक्षा प्रदान गरिनुपर्छ,’ महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको छ। व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि आक्रमण र तोडफोडका घटनाले चिन्ता बढाएको भन्दै महासंघले ती घटनाको निन्दा गरेको छ।
महासंघका अनुसार पछिल्लो आन्दोलनका क्रममा मुलुकभर अर्बौँ रुपैयाँ बराबरको उद्योग, व्यवसाय प्रतिष्ठान, कार्यालय तथा उद्यमीहरूको निवाससमेत क्षतिग्रस्त भएका छन्। कतिपय ठूला उद्योगका साथै दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने व्यवसायहरू पनि प्रभावित भएका कारण आपूर्ति प्रणालीमै समस्या देखिएको छ।
निजी क्षेत्रको भूमिकाबारे प्रष्ट पार्दै महासंघले नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत योगदान उत्पादनमा, ८० प्रतिशत योगदान राजश्वमा र ८६ प्रतिशत योगदान रोजगारीमा रहेको जनाएको छ। त्यसैले निजी क्षेत्रलाई सुरक्षित र स्थिर वातावरण आवश्यक भएकोमा जोड दिएको छ।
महासंघले सामाजिक न्यायसहित उच्च आर्थिक वृद्धिको वातावरण सिर्जना गरेर मात्र युवाहरूलाई उच्च ज्याला र मर्यादित रोजगारी दिन सकिने बताउँदै सुशासन, वाक स्वतन्त्रता र स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
आवश्यक वस्तुहरूको ओसार–पसार सहज बनाउन पनि महासंघले विशेष ध्यान दिन आग्रह गरेको छ। औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको आपूर्ति अबरुद्ध हुँदा सर्वसाधारण थप संकटमा पर्ने भएकाले आपूर्ति प्रणालीलाई सहज बनाउनु पर्ने महासंघको भनाइ छ।
अन्तर्राष्ट्रिय विमानस्थल खुला भए पनि धेरै भन्सार नाका बन्द रहेकाले आयात–निर्यात प्रभावित भएको भन्दै महासंघले सुरक्षा व्यवस्था मिलाई भन्सार नाका सञ्चालन गर्न आग्रह गरेको छ।
करिब ६ लाख साना, मझौला र ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने महासंघले विवेकपूर्ण समाधानमार्फत युवा पुस्ताको चाहना अनुसार समुन्नतिको बाटोमा देश अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend