२७ भदौं,गण्डकी । मुलुकमा देखिएको पछिल्लो राजनीतिक सङ्कटको समाधान संविधानभित्रै खोजिनु पर्ने माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज मौन प्रदर्शन गरेको छ।
नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायतका पेसागत सङ्गठनहरूको सक्रियतामा बागलुङ, पर्वत लगायतका जिल्लामा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले हातमा संविधानको पुस्तक र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्णयअनुसार मुलुकको संविधान र लोकतन्त्रको रक्षाका लागि यो कदम चालिएको नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव नारायण रिजालले बताए।
प्रदर्शनमा विशेषगरी कानुन व्यवसायी र पत्रकारहरूको उपस्थिति उल्लेखनीय रहेको थियो। उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीसका अनुसार पछिल्लो राजनीतिक परिस्थितिको निकास संवैधानिक प्रक्रियामार्फत मात्र सम्भव हुने सन्देश दिन प्रदर्शन गरिएको हो। उनका अनुसार पापडको केन्द्रिय निर्णयअनुसार जिल्लामा थप कार्यक्रम पनि तय हुँदै जानेछ।
जेनजी आन्दोलनको २३ र २४ भदौका प्रदर्शनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न पापडले संविधानभित्रैबाट अन्तरिम सरकार गठन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend