२३ भदौं, काठमाडौँ । आगामी भदौ २४ र २५ गते गर्ने भनिएको आन्दोलन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । संयुक्त आन्दोलन समितिद्वारा तय गरिएको कार्यक्रम हाल उत्पन्न भएका विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको छ ।
समितिले जारी गरेको सूचनामा आन्दोलन स्थगित भए पनि आफ्ना माग र मुद्दा भने यथावत् रहेको उल्लेख गरिएको छ । आन्दोलन स्थगित हुनुको कारणबारे स्पष्ट जानकारी नदिए पनि पछिल्ला परिस्थितिले तत्काल आन्दोलन अघि बढाउन सक्ने अवस्था नरहेको जनाइएको छ ।
प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष रविन्स शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “भदौ २४ र २५ गते गर्ने भनिएको आन्दोलन कार्यक्रम विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।”
यसअघि समितिले शैक्षिक क्षेत्रका विभिन्न माग र समस्यामाथि सरकारको ध्यानाकर्षण गराउन भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलन स्थगित भए पनि माग सम्बोधन नभएसम्म आफूहरू निरन्तर दबाब दिने समितिको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend